रामेछाप- द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीबाट हत्या गरिएका आफ्ना दाजुभाइको सम्झनामा सावित्री श्रेष्ठले रामेछापको सैपुफेदीस्थित अरुणोदय माविका लागि १२ कोठे भवन बनाइदिएकी छन्।
द्वन्द्वकालमा आफ्ना परिवार गुमाए पनि उनीहरुको सम्झनामा गाउँका बालबालिकाले पक्की भवनमा पढ्न पाऊन् भनी विद्यालयलाई सहयोग गरेको श्रेष्ठले बताइन्। लिखु तामाकोसी गाउँपालिका २ सैपुफेदीमा गणेश-उज्जन-भुवन स्मृति प्रतिष्ठानका नाममा निर्मित भवन सोमबार विद्यालयलाई हस्तान्तरण गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद पौडेललाई भवन हस्तान्तरण गर्दै श्रेष्ठले विकट गाउँबस्तीमा शिक्षा क्षेत्रमा काम गर्दा आफूले गुमाएका दाजुभाइ सधैं सम्झनामा रहने भएकाले यस्तो कार्य गरेको बताइन्। विद्यालयमा सरस्वती मन्दिर, द्वन्द्वकालमा ज्यान गुमाएका उज्जन-भुवनको सालिकसमेत निर्माण गरिएको छ।
२०५५ असार १० गते श्रेष्ठको कान्छा भाइ उज्जनको हत्या भएको थियो। उनको हत्या अभियोगमा माओवादी नेता एवम् पूर्वसभासद् बालकृष्ण ढुंगेल हाल जेल सजाय भोगिरहेका छन्। उज्जनको हत्या भएको एक वर्षपछि उनका दाजु गणेश (भुवन) श्रेष्ठको पनि माओवादीले हत्या गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।