काठमाडौं- नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेटको व्यग्र प्रतीक्षामा रहेको बताएका छन्। लामो समयपछि घरेलु दर्शकसामु खेल्न आफू आतुर रहेको उनको भनाइ छ।
अहिले अस्ट्रेलियामा बिग ब्यास लिग खेलिरहेका उनी इपिएलका लागि काठमाडौं किङ्समा आबद्ध भएका हुन्।
सन्दीप आबद्ध भएको खबर बुधबार बाहिरिएको थियो। बिहीबार ट्वीटमार्फत आफू नेपालमा लिग खेल्न पाउँदा निकै खुसी रहेको सन्दीपले बताएका छन्।
‘धेरै लामो समयपछि नेपालमा लिग खेल्न लाग्दैछु, घरेलु दर्शकको सामु खेल्नु सधैँ नै गजवको अनुभव हुने गर्दछ’ सन्दीपले ट्वीटमार्फत भनेका छन्।
सन्दीप अहिले अस्ट्रेलियामा बिग ब्यास लिग खेलिरहेका छन्। मेलबर्न स्टारका लागि खेलिरहेका उनले अहिलेसम्म ९ खेलमा ११ विकेट लिएका छन्।
सन्दीप आबद्ध टिम काठमाडौंका प्रशिक्षक बिनोद दासले पनि उनी खेल्ने पक्का भएको जानकारीसँगै उनको स्वागत गरेका छन्।
गएको वर्षको इपिएलमा सन्दीप ललितपुर प्याट्रियोट्सबाट खेलेका थिए। तर त्यस बीचमा नै अस्ट्रेलियामा बिग ब्यास परेकाले उनले पूरा समय टिमलाई दिन पाएका थिएनन्। त्यसबेला दुई खेल मात्रै खेलेका उनले तीन विकेट लिएका थिए।
इपिएलले आफ्नो आधिकारिक वेवसाइटमा हसिम अमला, मोहमद साहजाद, उपुल थारङ्गा, लियाम प्लङकेट, ड्वायन स्मिथ, सेकुगे प्रसन्ना, केसरिक विलियम्स जस्ता खेलाडी पनि खेल्ने जनाएको छ।
यसपटक इपिएल चैत १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।