काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट खेल्ने भएका छन्। उनी इपिएलका लागि काठमाडौं किङ्समा आबद्ध भएका हुन्।
इपिएलको आधिकारिक ट्वीटरमार्फत सन्दीप खेल्ने पक्का भएको उल्लेख गरेको छ। सन्दीप आबद्ध टिम काठमाडौंका प्रशिक्षक बिनोद दासले पनि उनी खेल्ने पक्का भएको जानकारी दिएका छन्।
सन्दीप अहिले अस्ट्रेलियामा बिग ब्यास लिग खेलिरहेका छन्। मेलबर्न स्टारका लागि खेलिरहेका उनले अहिलेसम्म ८ खेलमा ९ विकेट लिएका छन्।
गएको वर्षको इपिएलमा सन्दीप ललितपुर प्याट्रियोट्सबाट खेलेका थिए। तर त्यस बीचमा नै अस्ट्रेलियामा बिग ब्यास परेकाले उनले पूरा समय टिमलाई दिन पाएका थिएनन्। त्यसबेला दुई खेल मात्रै खेलेका उनले तीन विकेट लिएका थिए।
इपिएलले आफ्नो आधिकारिक वेवसाइटमा हसिम अमला, मोहमद साहजाद, उपुल थारङ्गा, लियाम प्लङकेट, ड्वायन स्मिथ, सेकुगे प्रसन्ना, केसरिक विलियम्स जस्ता खेलाडी पनि खेल्ने जनाएको छ।
यसपटक इपिएल चैत १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।