काठमाडौं- बालुवाटारस्थित ललितानिवास जग्गा काण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ।
बुधबार साँझ काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोक नजिकै रहेको ढकालको घरमा बम विस्फोट भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
बेलुका ८ बजेतिर ढकालको घरको गेटमा बम विस्फोट भएको हो।
'विस्फोटबाट पार्किङ गरी राखिएको कार र गेटमा क्षति पुगेको छ। घरका झ्यालका सिसा फुटेका छन्। कुनै मानवीय क्षति भएको छैन,' डिएसपी बोगटीले भने।
विस्फोट कसले र किन गराएको हो भन्ने खुल्न सकेको छैन।
विस्फोटका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
ढकाल तत्कालिन नेकपा एमाले नवलपरासीबाट महाधिवेशनका प्रतिनिधि हुन्।
माधव नेपाल निकट मानिने आयुर्वेदका डाक्टर शोभाकान्त ढकालले नेपाल प्रधानमन्त्री भएको बेलामा नै बालुवाटार बेच्ने योजना तयार गरेका थिए।
पेसा छाडेर जग्गा दलालीमा लागेका ढकालको धेरै बैंकमा सेयर र धेरै स्थानमा घर घडेरी भएको पाइएको छ।
नवलपरासीको क्षेत्र न १ माओवादीको भागमा नपरेको भए उनले टिकट पाउने निश्चित थियो।
स्याङ्जा पुर्ख्यौली घर भएका ढकालको नवलपरासीको कावासोती नगरपालिका–६ नयाँगाउँमा घर छ।
केही वर्ष अघिसम्म सामान्य आर्थिक अवस्थाका ढकालको अहिलेको परिचय धनाढ्यका रुपमा हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।