काठमाडौं- नेपाल स्काउटको तीन रोपनी जग्गा भाडामा लिएर ११ रोपनी जग्गा 'कब्जा'मा लिएका नेपाली कांग्रेसका नेता दीपक खड्काले स्काउटको माइन्युटमा नै हस्तक्षेप गरेको तथ्य फेला परेको छ।
पूर्व राज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता खड्काले स्काउटको लैनचौरस्थित जग्गा कब्जा गर्न स्काउटका तत्कालीन केही पदाधिकारीसँगको मिलेमतोमा १० वर्षका लागि भाडामा लिएको जग्गाको सम्झौता अवधि ५ वर्ष थपेको तथ्य फेला परेको हो।
नेता खड्काको कम्पनी ‘खड्का डेभलपमेन्ट प्रालि’ले २०६६ भदौदेखि भाडा तिर्ने गरी स्काउटको तीन रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएको थियो। स्काउटले लैनचौर परिसरमा खानी विभागसँगको सीमानामा जोडिएको 'पोखरी'को तीन रोपनी जग्गा कम्पनीलाई प्रतिरोपनी ४० हजार ५ सय रुपैयाँ मासिक भाडा दिने गरी सम्झौता गरेको थियो।
तर, नेता खड्काले जग्गा भाडामा लिएको दुई वर्षपछि नै २०६८ साउन २१ गते स्काउटका तत्कालीन पदाधिकारीसँगको मिलेमतोमा माइन्युट आफू अनुकुल बनाउन सफल भए। स्काउटको तत्कालीन समयका एक सदस्यले नेपाल लाइभलाई उपलब्ध गराएको कागजपत्रअनुसार उक्त दिन भएको निर्णयको माइन्युटको अक्षरसमेत मूल सम्झौतामा भएको अक्षरभन्दा फरक छ।
खड्काले पदाधिकारीसँगको मिलेमतोमा मूल सम्झौताको अवधि ८ वर्ष बाँकी रहँदा नै माइन्युटमा सम्झौता अवधि बढाएको खुलासा भएको हो। मूल सम्झौतामा १० वर्ष भएकोमा ५ वर्ष थप्न लगाएर सम्झौतालाई नै १५ वर्षे बनाएका छन्। खड्काको निर्देशनअनुसार उक्त दिन भएको निर्णयमा उक्त जग्गाको लिज अवधि १५ वर्ष भनेर लेखिएको छ। ‘शिलबन्दी बोलपत्रअनुसार ०६६ भदौदेखि रु १ लाख २१ हजार ५ सय बुझाउने जग्गाको लिज अवधि १५ वर्ष,’ उक्त दिन भएको निर्णयको ४ नम्बर बुँदामा लेखिएको छ। उक्त निर्णयको अक्षर र उपस्थिति उल्लेख भएको पानामा भने पहिलो पानामा भएको अक्षरभन्दा फरक छ।
माइन्युटमा पछि थपिएको पेज।
माइन्युटको उपस्थिति उल्लेख भएको पेज।
माइन्युटको उपस्थितिमा २५ जनाको नाम उल्लेख छ। उपस्थितिमा सबैको हस्ताक्षर समेत छ। तर, फरक अक्षर रहेको उक्त निर्णय रहेको पानामा भने जम्मा एक जानको मात्र हस्तक्षर छ।
स्काउटले खड्काको कम्पनीसँग गरेको २० बुँदे सम्झौतापत्रको बुँदा नम्बर ५ मा जग्गाको करार अवधि १० वर्षको हुनेछ भन्ने उल्लेख छ। उक्त सम्झौता पत्रमा स्काउटका तर्फबाट राष्ट्रिय सचिव चन्द्रकला पन्त र खड्काको कम्पनीको तर्फबाट सुजित मुनिकारले हस्तक्षर गरेका छन्।
स्काउटको तीन रोपनी जग्गा लिएर सुरुदेखि नै त्यो भन्दा बढी जग्गा कब्जा गरेका खड्काले ०६८ सालमा आफू अनुकुलको निर्णय गराउन सफल भएको बताउँछन् स्काउटका हालका प्रमुख आयुक्त लोकबहादुर भण्डारी। ‘सम्झौतामा १० वर्ष भनेर लेखिएको छ। तर त्यसको दुई वर्षपछि नै माइन्युटमा चलखेल गरेको देखियो। माइन्युटमा कसरी १५ वर्ष भनेर लेखियो,' उनले प्रश्न गर्दै थपे, 'यसले के देखाउँछ भने स्काउटको जग्गा कब्जा गर्न उहाँको कम्पनीले ठूलै चलखेल गरेको छ।’
सम्झौतापत्रअनुसार खड्काको कम्पनीको करार अवधि सकिएकाले जग्गा खाली गर्न पत्र पठाइसकेको जानकारी दिए। ‘तर, उहाँहरूले अझै पनि जग्गा खाली गर्नुभएको छैन,’ उनले भने, ‘उहाँहरूले चलखेलका आधारमा बनाइएको माइन्युट देखाएर जिल्ला अदालतबाट मुद्दा जितेर आउनु भएको छ। हामी त्यसविरुद्ध पुनरावेदनमा जाने भएका छौं।’
नेता खड्काले स्काउटको जग्गा कब्जा गरेको कुरा युवा तथा खेलकुद मन्त्रालयको छानबिनले समेत देखाएको छ। खड्काले तीन रोपनी जग्गा भाडामा लिएर सम्झौताविपरीत ५ रोपनी ९ आना जग्गामा भवन बनाएका छन्। उक्त भवनमा खड्काको कम्पनीले ‘लैनचौर बैंक्वेट’ नामको पार्टी प्यालेस सञ्चालनमा ल्याएको छ। यसका साथै थप साढे ५ रोपनी पार्किङका रूपमा उपयोग गर्दै ११ रोपनी जग्गा खड्काको कम्पनीले कब्जामा लिएको छ।
खड्काको कम्पनीले सम्झौताभन्दा बाहिर गएर स्काउटको जग्गामा अर्को भवनसमेत बनाएको छ। उक्त भवनमा कम्पनीले माई च्वाइस रेष्टुरेन्ट एन्ड बारसमेत सञ्चालन गरिरहेको छ। स्काउटले पार्किङका लागि भन्दै दिएको एक रोपनी जग्गामा खड्काले सम्झौता विपरीत भवन बनाएका हुन्। सोही भवनमा रेष्टुरेन्ट चलाइएको छ।
मन्त्रालयले सम्झौताविपरीत बनाइएका यी दुई संरचना हटाउने निर्णय ०७५ पुस १९ गते गरेको छ। यस्तै सम्झौताविपरीतका संरचना बनाउन दिने स्काउटका पदाधिकारीलाई समेत कारबाही गर्ने निर्णय गरेको छ।
हेरौं मन्त्रालयको निर्णय

मन्त्रालयको उक्त निर्णयपछि स्काउटले खड्काको कम्पनीलाई सम्झौता अनुसारको जग्गा मात्र उपभोग गर्न र बाँकी क्षेत्र खाली पाउने गरी पत्राचार गरेको छ।
तर, खड्काको कम्पनीले उक्त निर्णय कार्यान्वयनमा ल्याएको छैन।
सम्बन्धित समाचारः
स्काउटको जग्गा कांग्रेस नेता खड्काको ‘कब्जा’मा, ३ रोपनी भाडामा लिएर साढे ५ रोपनीमा भवन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।