काठमाडौं- माथिल्लो तामाकोसी आयोजनाको काम अबको ९ महिनामा सकिने भएको छ। आयोजनाको स्थलगत अवलोकनका लागि अघिल्लो साता गएको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको टोलीलाई आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले उक्त जानकारी दिएका हुन्। अवलोकनमा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेसहितको सरकारी टोली पुगेको थियो।
सरकारी टोलीसँगको छलफलका क्रममा आयोजनाप्रमुख श्रेष्ठले अबको ९ महिना अर्थात् सेप्टेम्बर अन्तिमसम्ममा आयोजनाको सम्पूर्ण काम सकिने प्रतिबद्धता जनाए।
‘अझै पनि केही चुनौतीपूर्ण काम बाँकी नै छन्, पेनस्टक पाइप जडानजस्तो संवेदनशील काम बाँकी नै छ,’ अवलोकन टोलीमा संलग्न अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव उत्तरकुमार खत्रीले भने, ‘यी सबै काम सकेर आउँदो सेप्टेम्बरभित्रमा आयोजनाको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको छ।’
आयोजनाले गरेको ब्रिफिङअनुसार टेक्सनाकोले अहिलेसम्ममा ८५ मिटर पेनस्टक पाइप जडान गरेको छ। यो कम्पनीले ३१० मिटर पेनस्टक पाइप जडान गर्ने जिम्मेवारी लिएको छ। यसैगरी अर्को ठेकेदार कम्पनी एन्ड्रिज हाइड्रोले ३७२ मिटर पेनस्टक पाइप जडान गर्नुपर्नेमा २०० मिटर जडान गरेको छ।
‘हेडवक्र्ससहित आयोजनाको पावरहाउसभित्रका अन्य काम सम्पन्न भएको भन्ने जानकारी उहाँहरुले दिनुभएको छ, तर सबैभन्दा जटिल काम बाँकी रहेकाले आयोजनाको काम सम्पन्न हुन समस्या भएको रहेछ,’ स्थलगत निरीक्षणमा गएका खत्रीले भने। तामाकोशीका प्रतिनिधिले अबको असारसम्ममा कम्तिमा एउटा युनिट सञ्चालन गर्ने प्रतिबद्धता जनाएको पनि उनले बताए।
४५६ मेगावाट क्षमताको आयोजनाको एउटा युनिट ७६ मेगावाट क्षमताको हुनेछ। ऊर्जा सचिव घिमिरे नेतृत्वको टोलीमा अर्थ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, नागरिक लगानी कोषलगायतका संस्थाबाट प्रतिनिधि थिए। टोलीले आयोजनाको प्रगति विवरण र बाँकी काम एवं चुनौतीबारे आयोजना प्रमुखसहितका पदाधिकारीसँग छलफल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।