ताप्लेजुङ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन्। बुधबार बिहान ताप्लेजुङका ४ महत्वपूर्ण सडकको अनुगमनपछि एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री नेम्बाङले यस्तो बताएका हुन्।
यसअघि मन्त्री नेम्वाङले चर्चित धार्मिकस्थल पाथीभरा जाने बाटो सुकेटार–पाथिभरा सडक खण्ड, दोभान–ढुगेंसाघु–बसन्तपुर (मदनभण्डारी राजमार्ग) सडकखण्ड, सदरमुकाम फुङ्लीङ बाइपा र ताप्लेजुङ–ओलाङ्चुङगोला हुँदै तिब्बत जोड्ने सडकको अनुगमन गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला ताप्लेजुङ भ्रमण गर्दै सुकेटार विमानस्थल, पाथिभरा, तमोर करिडोर र मदनभण्डारी राजमार्गलाई चासोको रूपमा लिएकोसमेत स्मरण गराएका थिए।
'सरकारले 'समृद्ध नेपाल, सुखी नेपाली'को नारालाई साकार पार्दै विकासलाई प्राथमिकता दिएको छ। पूर्वाधार विकास सरकारको प्राथमिकतामा परेको छ,' उनले भने।
आफ्नो मन्त्रालय मातहतका कार्यालय अनुगमन गरी मन्त्री नेम्बाङले समयमै काम सक्न निर्देशन समेत दिए। मन्त्री नेम्वाङ मोरङ-१ का सांसद् घनश्याम खतिवडा, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, १ नम्बर सडक डिभिजन कार्यालय प्रमुख रामप्रसाद पोखरेल, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालगायतको टोलीले सडक अनुगमन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।