काठमाडौं- भारत सरकारले पाम आयल निकासीमा प्रतिबन्ध लगाएपछि नेपाली अधिकारीहरू त्यको प्रभावका विषयमा छलफलमा जुटेका छन्। भारतले अहिलेसम्म खुलारुपमा आयात गरिरहेको कच्चा तथा प्रशोधित पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि त्यसले नेपालमा पर्ने प्रभाव बारेमा छलफल गर्न उनीहरू जुटेका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले भारत सरकारको यो निर्णयको विषयमा बिहीबार सरोकारवालासँग छलफल गर्न लागिएको जानकारी दिए। 'हामी अब सरोकारवालासँग छलफल गर्दैछौं, त्यसपछि मात्रै केही भन्न सकिएला,' उनले भने।
वाणिज्य मन्त्रालयकै सहसचिव नवराज ढकालका अनुसार सरोकारवालासँगको छलफलपछि नेपालले भारतीय पक्षसँग यसबारेमा कुरा गर्नेछ। 'चालु वर्षमा हाम्रो मुख्य निकासी वस्तुको रुपमा रहेको पाम आयल नेपालबाट जान नपाउने सूचना आएको छ, यो विषयमा हामी अहिले छलफल गर्दैछौं,' उनले भने, 'त्यसपछि हामी अन्य पक्षसँग पनि कुरा गर्छौं।'
भारतले निर्यात नीति संशोधन गर्दै निर्यात आयात (एक्जिम) कोड १५११९० लाई खुलाबाट प्रतिबन्धित बनाएपछि अब त्यहाँ यो कोडअन्तर्गत पर्ने वस्तुहरुले प्रवेश पाउँदैनन्। एक्जिम कोड १५११९०१०, १५११९०२० र १५११९०९० अन्तर्गत पर्ने पाम आयल अब भारत प्रवेश गर्न पाउँदैनन्।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा नेपालबाट कच्चा र प्रशोधित गरी ११ अर्ब ५४ करोड रुपैयाँको पाम आयल भारत निकासी भएको थियो। नेपाली व्यवसायीले कच्चा पदार्थ आयात गरी ३० प्रतिशत मूल्य अभिवृद्धि गर्दै निकासी गरिरहेको बताउने गरेका थिए।
नेपालको चालु वर्षको कूल वस्तु निर्यातको २४ प्रतिशत हिस्सा यसैले ओगट्छ। गत वर्षको तुलनामा पाम आयलको निकासी १० गुणाले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।