काठमाडौं- भारतले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाएको छ।
भारतको वैदेशिक व्यापार सम्बन्धी ऐन १९९२ अन्तर्गतको वैदेशिक व्यापार नीति २०१५-२०२० मा संशोधन गर्दै भारतले प्रशोधित पाम आयल आयातमा रोक लगाएको हो।
भारतको वाणिज्य एवं उद्योग मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गर्दै भारतले उक्त निर्णय लिएको जानकारी दिएको छ।
भारतले पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि तेश्रो मुलुकबाट नेपाल भित्रिएर भारत निर्यात हुने पाम आयलको व्यापारमा पनि प्रतिबन्ध लाग्नेछ।
पाम आयल नेपालको उत्पादन भने होइन। तर व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार नेपालले गर्ने कुल निर्यातको २४ दशमलव २ प्रतिशत बराबरको पाम आयल मात्रै निर्यात हुने गरेको देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो ५ महिना अवधिमा कुल ४७ अर्ब ६२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा ११ अर्ब ५२ करोड रुपैयाँ बराबरको पाम आयल मात्र निर्यात भएको छ।
प्रशोधित पाम आयलसँगै तेश्रो मुलुकबाट कच्चा पाम आयल ल्याउने र नेपालमा प्रशोधन गरी भारत निर्यात गर्ने क्रम वर्षेनी बढ्दो क्रममा थियो।
निकासी तथा व्यापार प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार पछिल्लो ५ महिना अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा पाम आयलको निर्यातमा ७ सय ५६ प्रतिशतले वृद्धि भएको देखिन्छ।
यस्तो छ भारतले जारी गरेको सूचना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।