जनकपुर- प्रदेश २ सरकारले आगामी ५ वर्षभित्र ११ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य राखेको उल्लेख गरेको छ।
मुख्यमन्त्री लालबाबु राउतद्वारा सार्वजनिक पहिलो पञ्चवर्षीय आवधिक योजनाको आधारपत्र-२०७६ मा यस्तो लक्ष्य उल्लेख छ। पहिलो पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गर्दै सरकारका अबका नीति तथा कार्यक्रम यसैलाई टेकेर अगाडि बढाउनेसमेत मुख्यमन्त्री राउतले बताए।
प्रदेश नीति आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री राउतले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरू समावेश गर्ने बताए।
बुधबार आयोजित पत्रकार सम्मेलनमा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आउँदो पाँच वर्षपछि प्रादेशिक आर्थिक वृद्धि दर ११ प्रतिशत पुर्याउने लक्ष्य लिएको बताए। प्रदेश २ मा अहिले आर्थिक वृद्धिदर ६.५३ प्रतिशत छ। प्रदेशमा हाल रहेको २७.७ प्रतिशत गरिबीको दर घटाएर २१ प्रतिशतमा झार्ने लक्ष्य पञ्चवर्षीय योजनाले लिएको छ।
प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादन ४ सय ८८ अर्बबाट ६ सय अर्ब पुर्याउने लक्ष्य योजनाले समावेश गरेको उपाध्यक्ष डा. झाले बताए। अबका पाँच वर्षमा प्रदेशको प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ।
पत्रकार सम्मेलनमा प्रमुख सचिव रामकृष्ण सुवेदी, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झालगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।