ओलिभिया एकल्यान्ड
जब सिरयालियोनमा चुनाव नजिकिन्छ तब अभिभावकलाई आफ्ना बालबालिको चिन्ता बढ्दै जान्छ। चिन्ता बालबालिकाले विद्यालय जान पाउँदैनन् वा चुनावी अभियानमा सक्रिय हुन्छन् भन्ने कारणले होइन। अभिभावकको चिन्ता हो, कुनै पार्टी विशेष समर्थकले आफ्ना बालबालिकाको अपहरण गर्नेछन् र उनीहरुको अंग ‘कालो जादु’का लागि प्रयोग गर्नेछन्।
१६ फेब्रुअरी बिहानको १० बजे, सियरालियोनमा राष्ट्रपतीय, संसदीय र स्थानीय चुनाव आउन केही हप्तामात्रै बाँकी छ, १४ वर्षीया म्याबिन्टी कामारा, फ्रिटाउनमा रहेको आफ्नो घरनजिकै रहेको ढुंगा छापिएको भर्याङ ओर्लिन्छिन्। उनले घुँडासम्म आउने स्कर्ट लगाएकी छिन् भने खैरो रङको पोलो सर्ट र दुबै हातमा उनले प्लास्टिकको क्यान समातेकी छिन्।
पानीको मुहान उनको घरदेखि करिब ८ सय मिटर टाढा छ, जहाँ पुग्न उनले केहीबेर ओरालो लागेर पहाड ताछेर बनाएको गोरेटो बाटो पहिल्याउनुपर्छ। उनकी आमा आफन्तको घरमा गएकी छिन्, त्यसैले उनकी २५ वर्षीया दिदी आलिमाटुले म्याबिन्टीलाई पानी लिन पठाएकी हुन् र आफू बिहानको घरायसी काममा व्यस्त छिन्।
आलिमाटुले टिनले छाएको आफ्नो घरमा कुचो लगाइन्, खाटका तन्ना मिलाइन् र आफ्ना भाइ, बहिनी र भदाका लागि खाना बनाइदिइन् र भाँडा माझिन्। म्याबिन्टी पानी लिन गएको केही घन्टा भइसके पनि उनी नआएपछि साथीहरुसँग गफ गरेर बसेको शंका गर्दै उनलाई गाली गर्दै पानीको मुहानतिर लागिन्।
पानीको मुहानमा उनले केही हुल महिला गफिइरहेको देखिन् र उनीहरुलाई आफ्नी बहिनी म्याबिन्टीबारे सोधिन्। तर, उनीहरुले म्याबिन्टीलाई नदेखेको बताए। बहिनीलाई खोज्दै आलिमाटुले आफ्ना छिमेकीको घर चाहरिन्, बाटोमा हिँड्ने हरेक बटुवालाई सोधिन्।

मोबाइलमा म्याबिन्टीको तस्बिर
केही घन्टाको खोजीपछि बहिनी अहिलेसम्म घर आइपुगेको हुन सक्ने अनुमान गर्दै घर फर्किन्। तर, घरमा म्याबिन्टीलाई उनले फेला पारिनन्। बेलुकी साढे ६ बजे उनले पुलिस थानामा गएर हराइरहेकी बहिनीबारे रिपोर्ट गरिन्।
‘एकजना प्रहरीले बहिनीको केही खबर आएमा बताउने भन्दै मलाई घर जान भने,’ आलिमाटुले भनिन्, ‘म त्यो रात सुत्न सकिनँ, उनी कहिल्यै पनि अरुको घरमा बस्न जाँदिन थिइन्, त्यसैले मेरो चिन्ता बढ्दै गएको थियो।’
त्यसको करिब ४ दिन आलिमाटुले फ्रिटाउनको हरेक गल्ली र बाटो चाहरेर बिताइन्। उनीे ती सबै ठाउँमा पुगिन् जहाँ घरबाट भागेका र सडकबालबालिका सुत्ने गर्छन्। उनले त्यहाँका सबै बालबालिका र आफूले समेत नचिनेका एक सयभन्दा बढी व्यक्तिलाई आफ्नी बहिनीको फोटो देखाइन्।
म्याबिन्टी हराएको ५ दिनपछि आलिमाटु एक औद्योगिक क्षेत्रका रुपमा विकास हुँदै गएको वाटरलुमा पुगिन्, जुन ठाउँ उनको घरदेखि गाडीमा एक घन्टाको दुरीमा छ। आलिमाटुलाई उनको छिमेकीको फोन आएको थियो र भनिएको थियो, ‘म्याबिन्टीको शव फेला परेको छ। उनको शव दुई भवनको बीचमा छ, शिक्षा मन्त्रालयको नजिकै।’
म्याबिन्टीको पहिचान उनले लगाएको कालो स्कर्ट, खैरो टिसर्ट र उनले बोकेको जारका कारण सम्भव भएको थियो। उनले शवको दायाँ खुट्टा घुँडाभन्दा तल काटिएको अवस्थामा फेला परेको थियो।
‘बाहिरबाट हेर्दा उनको खुट्टामात्रै काटिएको देखिएको थियो,’ सियरालियोगका एक मात्र प्याथोलोजिस्ट डाक्टर ओविस् कोरोमाले भने, ‘अस्पतालमा ल्याएर गरिएको थप परीक्षणपछि हामीले उनको जिब्रो, अन्डाशय, आन्द्रा, पाठेघर, डिंबवाहिनी नली र योनी पनि निकालिएको फेला पा¥यौं। कसैले उनका ती अंग अपरेसन गरी निकालेका थिए।’
सियरालियोनमा यसप्रकारका हत्या (जसमा शरीरका अंग निकालिन्छन्) कालो जादुका लागि प्रयोग गर्ने गरिन्छ र निशानामा सधैं बालबालिका पर्छन्। जसको कारण हो, यस किसिमका क्रियाकलापमा विश्वास गर्ने मानिसको धारणा छ– एक वयश्कभन्दा पनि बालबालिकाको अंग स्वस्थ र बढी शक्तिशाली हुन्छ ।
‘बालबालिकाको अंगहरु नाम कमाउन, धन आर्जन गर्न र शक्ति प्राप्त गर्नका लागि प्रयोग गर्ने गरिएको छ,’ सियरालियोन पुलिस फोर्सका मिडिया प्रमुख इब्राहिम सामुराले भने।
अपहरणको शैलीमा लगिएका बालबालिकाको अंग विभिन्न कार्यका लागि प्रयोग गर्ने गरिन्छ। जिब्रोले मानिसको बोल्ने शैली विकास गर्ने विश्वास गरिन्छ। कालो जादु गर्ने एक व्यक्तिले भन्नेछ, ‘मलाई एक महिलाको स्तन चाहिन्छ, स्तन बलिदान वा आकर्षणको प्रतिविम्ब हो।’

इब्राहिम सामुरा
सामुराका अनुसार सियरालियोनमा स्थानीय एवं राष्ट्रियस्तरका नेता अथवा अरु कोही जसलाई निर्वाचन परिणाम आफ्नो पक्षमा पार्नु छ भने उनीहरु कालो जादु गर्नेकहाँ पुग्छन् र कहिलेकाहीँ उनीहरुले ती अंगसमेत खाने गरेका छन्।
डा कोरोमाको कुरालाई आधार मान्ने हो भने पनि सियरालियोनमा निर्वाचनको समयका साथै अन्य समयमा पनि यस्ता हत्या हुनेगर्छन्। पछिल्लो ६ महिनामा मात्रै पनि उनले यस्तै किसिमका अन्य ३ घटना थाहा पाइसकेका छन्, जुन अन्य समयमा भन्दा धेरै हो।
डा कोरोमाले थाहा पाएको पहिलो घटना भनेको पश्चिम फ्रिटाउनकी एक १० वर्षीया बालिकाको हो, जसको शव एउटा बाक्लो प्लास्टिकमा पोको पारिएको अवस्थामा फेला परेको थियो। उनको शवको बाँया कान, बाँया खुट्टा, बाँया हात र योनीको केही भाग काटिएको अवस्थामा फेला परेको थियो।
उक्त घटनापछि डा कोरोमाले म्याबिन्टीको शरीरको परीक्षण गरेका थिए र पछिल्लो पटक उनले १५ मार्चमा यस्तै घटनाको अर्को शव परीक्षण गरेका थिए जुन पहिलो दिनको मतदानपछि तर अघिल्लो सप्ताहन्तको मतदानभन्दा पहिले थियो।
एक ४ वर्षको बच्चाको शरीर थियो त्यो, पोर्ट लोकोको जंगलमा फेला पारिएको। उनको शरीर क्षतविक्षत अवस्थामा फेला पारिएको थियो। बच्चाको कलेजो निकालिएको थिएन तर खप्परमा भने दुईवटा प्वाल थिए।
‘यस प्रकारका घटनामा सर्जरीको राम्रो ज्ञान भएको मानिसको संलग्नता छ,’ डा कोरोमा भन्छन्।
प्रहरीले पनि बालबालिका हराउने क्रम बढेको र उजुरीको संख्या बढ्दै गएको जनाए पनि यकिन तथ्यांक भने राखिएको छैन।
‘हामीले सामुदायिक रेडियो स्टेसनबाट अभिभावकलाई सचेत बनाइरहेका छौं र स्थानीय नेतालाई पनि बालबालिका हराइरहेको र यस सम्बन्धी अपराधको विषयमा सजग गराइरहेका छौं। हामीले उनीहरुलाई आफ्ना १८ वर्षमुनिका बालबालिकालाई समुद्र किनार वा अन्य ठाउँमा बयस्क साथीबिना जान नदिन आग्रह गरेका छौं,’ इब्राहिम सामुराले भने।
उनीहरुको यो तरिकाले अभिभावकमा चेतनाको स्तर बढ्दै गएको देखिएको छ। सियरालियोनका अभिभावकले आफ्ना बालबालिकालाई अज्ञात व्यक्तिले दिएको चकलेट वा लिफ्ट समेत नस्वीकार्न सिकाएका छन्।
तर, कहिलेकाहीँ सियरालियोनमा अफवाह निकै तीव्र गतिमा फैलिने गरेको छ। गत जनवरीमा दुई बालबालिका एक कारको पछाडि मृत अवस्थामा फेला परेका थिए, एक अनलाइनले लेखिदियो
‘शैतानी राजनीतिज्ञको नरभंक्षी अनुष्ठान’। तर, प्याथोलोजिस्ट ओविस कोरोमाको परीक्षणले भने ती बालबालिकाको मृत्यु कार्बोन मोनोअक्साइड पोइजनिङका कारण भएको पत्ता लगायो। यस घटनामा ‘अनुष्ठान हत्या’को कुनै सम्भावना देखिएको छैन।

म्याबिन्टी र उनकी दिदी आलिमाटु बस्ने कोठा
‘सियरालियोनमा सडक बालबालिका अपहरणमा पर्ने सम्भावना धेरै छ। केही हप्ताअघि मात्रै पनि फ्रिटाउनका करिब २५ जना बालबालिकाले हाम्रो संस्थाका प्रतिनिधिलाई सहयोगको आग्रह गर्दै भेट्न आएका थिए। अन्य भने आफ्नो गाउँ फर्किइसकेका छन्,’ डन बस्को फ्यामबुल बाल कल्याण संस्थाका सियरालियोन प्रमुख जर्ज क्रिसफुलीले भने।
अनुष्ठान हत्याको प्रयासबाट बाँचेका एक प्रत्यक्ष उदाहरण हुन्, १२ वर्षीय अब्दुल। आफ्नो छिमेकीको घरको छतमा फेला परेको हराइरहेको बल लिन पुगेका उनलाई त्यहाँ बसिरहेका केही मानिसले समाते र उनको टाउको भर्याङमा हिर्काउन थाले। उनलाई तिनीहरुले आफ्नो सामान चोरेको आरोप लगाइरहेका थिए। त्यसपछि उनलाई ती व्यक्तिहरुले केही दिनसम्म कोठामा बन्द गरेर राखे, यातना दिए र उनलाई लागुपदार्थ सुँधाइरहे।
‘ती दुई दाजुभाइमध्ये एकले मलाई मार्न भनिरहेका थिए र चाहिने अंग निकालेर बाँकी शरीर प्लास्टिकमा पोको पारेर नालीमा फालिदिनका लागि दबाब दिइरहेका थिए,’ अब्दुलले भने। दुई दाजुभाइको झगडा परेको दिन अब्दुल त्यहाँबाट भागेर पुलिसकहाँ पुगे र ज्यान जोगाए।
सिकागोमा रहेको नर्थवेस्र्टन युनिर्भसिटीमा मानवशास्त्र अध्ययन गरिरहेकी एडिया बेन्टन जसले लामो समयसम्म सियरालियोनमा बसेर पढिन्, उनको पनि दावा छ– सियरालियोनमा अनुष्ठान हत्याका खबर र घटना समय–समयमा सुनिने गरेका छन्।
‘चुनाव आइरहेको समयमा वा सत्ता परिवर्तनको समयमा यस्ता घटनाबारे धेरै सुन्न पाइन्छ। सन् २००७ को चुनावको समयमा पनि यस्तै घटना सार्वजनिक भएका थिए र त्यस्ता घटनाका पीडित सधैं बालबालिका हुने गरेका छन्,’ बेन्टनले भनिन्।
यस्ता हत्याको अभियोगमा यहाँको अदालतले अहिलेसम्म एकजनालाई मात्रै जेल चलान गरेको छ तर चुनावी समयमा होइन।
सन् २०१५ मा एक डिजे (डिजे क्लेफको नामले परिचित) लाई बाइम्बा कोय फोरे (चर्चित वैद्य) को घरमा डिजे पार्टीका लागि बोलाइएको थियो। डिजे क्लेफ जसको असली नाम सिड्नी बक्कल हो, उनलाई मृत अवस्थामा फेला पारियो। उनको यौनाङ्ग, खुट्टाको बुढी औंला, हातका औंला र नाक काटिएको थियो।
अनुष्ठान हत्यामा कसैलाई हिरासतमा राख्ने वा कारबाही गर्ने क्रिया निकै नौलो हो, तर बाइम्बा कोय फोरे र उनका साथीहरुलाई यस अभियोगमा मृत्युदण्डको फैसला सुनाइएको थियो। पछि त्यो सजाय आजीवन काराबासमा परिणत गरियो।
अहिलेसम्म म्याबिन्टीको घटनामा कसैलाई पक्राउ वा कारबाही गरिएको छैन। शंकाको घेरामा रहेका १३ जनालाई पक्राउ गरिएको भए पनि उनीहरुलाई जमानतमा रिहा गरिएको छ, जसमा म्याबिन्टीकै दिदी आलिमाटु पनि एक हुन्।
आलिमाटु भन्छिन्, ‘म हरेक दिनजसो पुलिस स्टेसनमा आफ्नो हाजिरी दिन जानुपर्छ।’
म्याबिन्टीको हत्या हुनुअघि आलिमाटुले तेल र चामल बेचेर आफ्नो घर खर्च पुर्याइरहेकी हुन्थिन्, तर अहिले भने उनी आफ्नो घरमा केही काम नगरी बसिरहेकी छिन्।
‘मलाई अहिले पुरानै व्यवसायमा फर्किन मन छैन,’ उनले भनिन्, ‘पछिल्लो घटनाले मलाई निकै निराश बनाएको छ। मेरी बहिनीलाई के भयो भन्ने कुरा ईश्वरलाई मात्रै थाहा छ।’
म्याबिन्टीको केस हेरिरहेका एएसपी मानसारायले पक्राउ गरिएका ३ जना शिक्षा मन्त्रालयका गार्ड र अन्य ९ जना म्याबिन्टीका छिमेकी भएको बताएका छन्।
(बिबिसीबाट विनोद अधिकारीले गरेको अनुवाद)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।