काठमाडौं- सरकारले वार्षिक ३० प्रतिशत राजस्व वृद्धि राखेर प्रक्षेपण गरेको भए पनि न्यून दरमा मात्रै राजस्व संकलन बढाएको छ। अर्थ मन्त्रालयका अनुसार मंसिर मसान्तसम्ममा राजस्व वृद्धिदर ३.७१ प्रतिशत कायम भएको छ।
वार्षिक ११ खर्ब १२ अर्ब रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा मंसिर मसान्तसम्ममा ३ खर्ब १८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। मंसिर मसान्तमा सरकारले ४ खर्ब २ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो।
अर्थ मन्त्रालयले डिजेल, सिमेन्ट क्लिंकरलगायतका वस्तुको पैठारीमा आएको कमीको प्रभाव भन्सार विन्दूबाट हुने राजस्व संकलनमा परेको जनाएको छ। यस अवधिमा आयकर तथा आन्तरिक मूल्य अभिवृद्धि करको संकलन गत वर्षको यही अवधिको तुलनामा ३१.३१ प्रतिशत र २९.४ प्रतिशतले बढेको मन्त्रालयको भनाइ छ।
मन्त्रालयका अनुसार मंसिरसम्ममा स्थायी लेखा नम्बर लिनेको संख्या ३० लाख ६१ हजार पुगेको छ। असार मसान्तमा यस्तो संख्या २१ लाख ७२ हजार थियो। स्थायी लेखा नम्बर लिनेमध्ये व्यक्तिगतर्फको वृद्धिदर ७५.८ प्रतिशत र व्यावसायिकतर्फको वृद्धिदर ११.४ प्रतिशत छ।
मन्त्रालयले यस अवधिमा स्थानीय तह र प्रदेशका लागि समपुरक अनुदानतर्फ १९ अर्ब ६ करोड रुपैयाँ हस्तान्तरण भएको पनि जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।