काठमाडौं- बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।
सुनचाँदी व्यावसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ। मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय रुपैयामा कारोबार भएको थियो।
सुनको मूल्यले नेपाली बजारमा गत शुक्रबारदेखि नयाँ किर्तिमान कायम गर्दै आइरहेको छ। शुक्रबार त्यसअघिको रेकर्ड तोड्दै ७४ हजार ५ सय पुगेको सुन आइतबार पुनः १ हजार रुपैयाँ बढेको थियो।
यस्तै सोमबार पनि सुन ५ सय बढेर ७६ हजार रुपैयाँ पुगे पनि मंगलबार भने ५ सय घटेको थियो। तर, बुधबार फेरि १ हजार रुपैयाँ बढेर सुनको मूल्य हालसम्मकै महंगो भएको हो।
यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७६ हजार २ सय रुपैयाँ तोकिएको छ।
सुनसँगै चाँदीको मूल्य पनि बढ्दै गएको छ। मंगलबार २० रुपैयाँ घटेर पुनः ९ सय पुगेको चाँदी बुधबार फेरि २० रुपैयाँ बढेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। बुधबारका लागि नेपाली बजारमा चाँदी प्रतितोला ९ सय २० रुपैयाँ मूल्य तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।