राजविराज– शौचालय निर्माण र प्रयोग व्यवस्थित नहुँदै खुला दिसामुक्त घोषणाका लागि हतारो गरेको भन्दै आलोचना भएपछि जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति सप्तरीले कानुनी बाटो अख्तियार गरेको छ।
चैत १६ गते शुक्रबार जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने पूर्वनिर्धारित कार्यक्रमलाई पछि सार्दै समितिले कानुनी प्रक्रिया पूरा गर्न थालेको हो। घोषणा सभा फागुन २१ गतेका लागि सारिएको छ।
जिल्लालाई खुला दिसामुक्त घोषणा गरेरै छाड्ने योजना अनुरुप समितिले शुक्रबार तीनदिने सूचना प्रकाशित गरेको थियो। सूचनामा कुनै समुदायमा शौचालय निर्माण नभएको वा खुलारुपमा दिसा गर्ने गरेको भए जानकारी दिन र त्यस्तो जानकारी प्राप्त नभए जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न बाधा नपर्ने उल्लेख गरिएको छ। घोषणाको दिन १६ गतेबाट २१ गतेका लागि सारिएको छ।
समितिले जारी गरेको सूचना अर्थपूर्ण भएको जानकारहरुले बताएका छन्। शौचालय निर्माण र प्रयोगमा सम्बन्धित निकाय असफल भएको भन्दै आलोचना बढेपछि भविष्यमा आउन सक्ने अप्ठ्यारा रोक्न पहिले नै कागजी प्रक्रिया व्यवस्थित गरिएको उनीहरुले बताए।
यता, मधेसी चेतना समाजले सोही दिन जारी गरेको प्रेस विज्ञप्तिमा जिल्लामा हालसम्म ६० प्रतिशत पनि शौचालय निर्माण नभएको दाबी गरेको छ। ४० प्रतिशत घरमा शौचालय नै निर्माण नगरी खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने सम्बद्ध सबैलाई कानुनी दायरामा ल्याउन विज्ञप्तिमा माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘खुला दिसामुक्त अभियानका नाममा भएका क्रियाकलाप, सम्बन्धित गैरसरकारी संस्था र अनुगमनमा संलग्न पक्षलाई पनि छानबिनको दायरामा ल्याउनु जरुरी छ।’
यसैगरी, सामाजिक सञ्जाल तथा समाचार माध्यमहरुमा समेत शौचालय निर्माण र प्रयोगको अव्यवस्थित अवस्थाबारे चर्चा चुलिएको छ।
जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने हतारोमा गत बुधबार मात्रै ५ नगरपालिका र २ गाउँपालिकालाई एकैसाथ ‘खुला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा’ गरिएपछि आलोचना थप बढेको थियो।राजविराज, डाक्नेश्वरी, बोदेबर्साइन, खडग, हनुमानगर कंकालिनी नगरपालिका तथा विष्णुपुर र तिलाठी–कोइलाडी गाउँपालिकालाई एकै दिन खुला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा गरिएको थियो।
हचुवाको भरमा घोषणा सभा आयोजना गर्ने र त्यस्ता कार्यक्रममा जनप्रतिनिधि समेत सहभागी भएर वैधानिकता दिने काम भइरहेको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै आएका छन्।
जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति सप्तरीका सदस्य–सचिव तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र यादवले भने कागजी प्रक्रियाका लागि कार्यक्रम नसरेको दाबी गरेका छन्। प्रमुख अतिथि कसलाई बनाउने भन्ने विषय टुंगो नलागेका कारण घोषणा कार्यक्रम २१ गतेका लागि सारिएको यादवले बताए।
यो पनि पढ्नुहोस्-
सप्तरीमा 'कागजी विकास' : शौचालय निर्माण र प्रयोग व्यवस्थित नहुँदै खुला दिसामुक्त घोषणाको हतारो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।