दाङ– कांग्रेस नेता खुमबहादुर खड्काको निधनले उनको जन्मथलो दाङको घोराही उपमहानगरपालिका ६ भैसाप्रथा गाउँ तथा गृहगाउँ लमही नगरपालिका–८ सतवरिया शोकमा डुबेको छ।
स्थानीय जनताले विकासप्रेमी नेता गुमाएको अभिव्यक्ति दिएका छन्।
'खुमबहादुर साँच्चै प्रजातन्त्रका योद्धा अनि जुझारु नेता पनि हुनुहुन्थ्यो, उहाँलाई गुमाउनुपर्दा धेरै दुःख लागेको छ', वयोवृद्ध दलबहादुर वलीले बताए।
प्रजातन्त्रका सेनानी तिलक डाँगीले खड्का निःस्वार्थ विकासप्रेमी नेता भएको बताए।
'जिल्लाको विकास, निर्माण र समृद्धिको काम गरेर कुशल संगठकका रुपमा पनि प्रजातन्त्रको कुशल नेतृत्व गुमाएका छौं', उनले भने।
मृत्युको खबर सुन्दा अप्रत्यासित लागि रहेको खड्कासँगै बाल्यकाल बिताएका स्थानीय सुरवीरसिंह वली बताउँछन्।
उनले भने, 'खुमबहादुरको उपचारको क्रममा मृत्यु भएको सबैले सुनाउँछन्, तर मलाई विश्वास नै लागिरहेको छैन।'
केशरबहादुर केसी भने खड्काले विगतमा गरेका विकास-निर्माणको काम सम्झिरहेका छन्।
'पहिले गाउँमा सडक थिएन, खानेपानीका लागि एक घन्टा हिँडेर जानुपर्थ्यो, तर खुमबहादुर मन्त्री भएको बेलामा गाउँमा कुवा बनाइदिनुभयो, बिजुली बत्ती ल्याइदिनुभयो, सडक र सिँचाइको व्यवस्था समेत गरिदिनुभयो', केसीले सुनाए।
खड्काको गृह गाउँ लमही नगरपालिका–८ का वडा अध्यक्ष मेघनारायण चौधरीले उनको निधनले कांग्रेस समर्थकलाई मात्र नभई सबै पार्टीप्रति आस्था राख्नेहरुलाई दुखी बनाएको बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।