काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता कारोबारको लगातार तेश्रो दिन उकालो लागेको छ। मंगलबार नेप्से परिसूचक १६ दशमलव २३ अंकले बढेर १ हजार २ सय १६ दशमलव ९२ अंकमा पुगेको छ।
नेप्से परिसूचक पछिल्लो तीन दिनमा मात्रै ५१ दशमलव ३९ अंकले बढेको छ। यो साता कारोबारको पहिलो दिन आइतबार १६ दशमलव शून्य ९ अंकले बढेको परिसूचक सोमबार १८ दशमलव २६ अंकले बढेको थियो।
मंगलबार १ सय ७९ वटा कम्पनीको ३८ लाख ८० हजार ९ सय ५० कित्ता सेयर १२ हजार ४ सय ५७ पटक खरिदबिक्री हुँदा १ अर्ब १० करोड २७ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार होटल समूह र उत्पादन समूह क्रमशः ८ दशमलव ३७ र २२ दशमलव ६६ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसचूक ८६ दशमलव ५६ अंकले बढेको छ।
कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक लिमिटेडको सबैभन्दा धेरै १९ करोड ४९ लाख १३ हजार रुपैयाँ बराबरको ८ लाख ७८ हजार ३ सय ९० कित्ता सेयर किनबेच भएको छ। एनआइसी एसिया बैंकको ६ करोड ४८ लाख र प्रभु बैंकको ४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा धेरै कमाउनेमा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा बोटलर्स नेपाल (तराई) लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ३ दशमलव ९३ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।