काठमाडौं– नेपाल निर्यात परिषदको आयोजना, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग र नेपाल हस्तकला महासंघको सहआयोजनामा मंगलबार निकासी दिवस मनाइँदै छ। परिषदले आयोजना गर्ने निकासी दिवसको यो चौथो वर्ष हो।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो पाँच महिना अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ दशमलव ४ प्रतिशतले घटेर ६ खर्ब २८ अर्ब ८७ करोड रुपैयाँमा सीमित हुन पुगेको छ।
कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७ दशमलव ६ प्रतिशत र ९२ दशमलव ४ प्रतिशत छ। समीक्षा अवधिमा नेपालको कुल निकासी २७ प्रतिशतले वृद्धि भई ४७ अर्ब ६२ करोड तथा तथा कुल पैठारीमा ४ दशमलव २ प्रतिशतले ह्रास आई ५ खर्ब ८१ अर्ब २६ करोडमा सीमित भएको छ। आव २०७५/७६ को प्रथम पाँच महिना अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः१६.२ रहेकोमा चालु आर्थि वर्षको सोही अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः१२.२ बराबर रहेको केन्द्रले जनाएको छ।
चालु आर्थिक वर्षको पहिलो ५ महिना अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा पाम आयल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, भटमासको तेल, तयारी पोशाक, जुट तथा जुटका सामान, अलैंची, जुस, चिया, कपडा, फलाम तथा स्टील, फेल्ट र पश्मिना सल प्रमुख रुपमा छन्।
यो अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा पाम आयलको निर्यातमा ७ सय ५६ प्रतिशतले वृद्धि भई ११ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। पोलिष्टर तथा अन्य धागोको निर्यातमा ५ दशमलव १ प्रतिशतले ह्रास आई ३ अर्ब ६२ करोड रुपैयाँमा सीमित भएको छ। ऊनी गलैंचाको निर्यातमा २ दशमलव ५ प्रतिशतले ह्रास आई ३ अर्ब २२ करोड रुपैयाँ बराबरको मात्रै निकासी भएको देखिन्छ।
यो आर्थिक वर्षको पहिलो ५ महिना अवधिमा भटमासको तेलको निर्यातमा २ हजार ७ सय ७३ प्रतिशतले वृद्धि भई कुल ३ अर्ब ९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। यो अवधिमा पाम आयल र भटमासको तेलको निर्यात उत्साहजनक देखिएको छ। ती वस्तुहरुको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः २४ दशमलब २ प्रतिशत र ६ दशमलव ५ प्रतिशत छ। समीक्षा अवधिमा कच्चा पाम आयलको आयातमा २ सय ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९५ करोड रुपैयाँ बराबर पुगेको छ। त्यस्तै कच्चा भटमासको तेलको आयातमा २३ दशमव १ प्रतिशतले वृद्धि भई ६ अर्ब ६२ करोड रुपैयाँ बराबर पुगेको छ।
तयारी पोशाकको निर्यातमा शुन्य दशमलव ६ प्रतिशतले ह्रास आई ३ अर्बमा सीमित भएको छ। जुट तथा जुटका उत्पादनको निर्यातमा भने १४ दशमलव ३ प्रतिशतले वृद्धि भई २ अर्ब ४२ करोड रुपैयाँ बराबर पुगेको छ । फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा ५६ दशमलव ३ प्रतिशतले कमी आई यसको व्यापार १ अर्ब ३४ करोड रुपैयाँमा सीमित भएको छ। यसैगरी यही अवधिमा १ अर्ब ५७ करोड रुपैयाँ बराबरको जुस, १ अर्ब ४५ करोड रुपैयाँ बराबरको चिया, १ अर्ब ४१ करोड रुपैयाँ बराबरको टेक्सटाइल, १ अर्ब ८६ करोड रुपैयाँ बराबरको अलैंची, १ अर्ब ६ करोड रुपैयाँ बराबरको पश्मिना सल, १ अर्ब १७ करोड रुपैयाँ बराबरको फेल्ट, र ५१ करोडको जडिवुटी निकासी भएको देखिन्छ ।
नेपाल निर्यात परिषदले नेपालको निर्यात बजारलाई गुणस्तमुखी बनाउन बैँकहरुको चर्को ब्याज घटाउनुपर्ने, कामदार अभावको मसस्या सुल्झाउन पहल गर्नुपर्ने, कच्चा पदार्थको अभाव हुन नदिने र बजारीकरणका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने विषयलाई केन्द्रित गरी निकासी दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।