काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तनमा योगदान पुर्याएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने बताएकी छन्। १०९औँ रामप्रसाद राई जन्मजयन्तीका अवसरमा आज रामप्रसाद राई प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७४ तथा सम्मान समारोह’ कार्यक्रममा उनले राई लगायत राजनीतिक परिवर्तनमा योगदान पुर्याउनेलाई राज्यले उचित सम्मान गर्नुपर्ने विचार व्यक्त गरिन्।
राईको जन्मस्थललाई सरकारले रामप्रसाद राई गाउँपालिका राखेर सम्मान दिएको उल्लेख गर्दै उनले स्वतन्त्र सेनानीका रुपमा रहेका राईको योगदानलाई सरकारले विशेष सम्मान दिनुपर्ने बताइन्।
राष्ट्रपति भण्डारीले विसं २००७ को राजनीतिक परिवर्तन ल्याउन राईले महत्वपूर्ण भूमिका खेलेको भनाइ राखिन्। मुलुकका लागि योगदान गरेको व्यक्तिको खोज अनुसन्धान गर्नुपर्ने भन्दै उनले थपिन्, 'मुलुकका लागि योगदान गरेका र ओझेलमा परेका व्यक्तिको साहित्य र लेखनबाट खोज अनुसन्धान हुनु राम्रो कुरा हो।'
१९६५ फागुन ८ गते भोजपुरमा जन्मिएका राई २००८ सालमा बेपत्ता भएका थिए। विभिन्न अध्ययनले राज्यपक्षबाट उनको हत्या भएको देखाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।