काठमाडौं- सरकारले जलश्रोतको बहु उपयोगका लागि ‘राष्ट्रिय जलश्रोत नीति’ ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नीतिको मस्यौदाबारे आइतबार मन्त्रालयमा छलफल गरेका थिए। मस्यौदामा बुँदागत रूपमा छलफल गरी दुई साताभित्र संशोधित मस्यौदा बुझाउन मन्त्री पुनले जल तथा उर्जा आयोगको सचिवालयलाई निर्देशन दिए।
मन्त्री पुनले पानी समृद्धिको आधार भएको चर्चा गर्दै आगामी वर्तमान पुस्ताले जलश्रोतको संरक्षणमा ध्यान दिनुपर्ने औंल्याएका थिए। नेपालमा उपलब्ध प्राकृतिक स्रोतमध्ये पानी महत्वपूर्ण स्रोत भएको उल्लेख गरेका मन्त्री पुनले पुरानो पानी नीति पर्याप्त नभएको र पानीको उपयोग तथा संरक्षणका लागि तीनै तहका सरकार (संघ, प्रदेश र स्थानीय) बीच अधिकार उपयोगमा तालमेल जरुरी रहेको बताएका थिए। ‘हामीसँगै पर्याप्त पानी त छ, तर चाहेको ठाउँमा छैन। वातावरणीय परिवर्तनका कारण हिजो भएको ठाउँमा आज पानी पाइँदैन,' मन्त्री पुनले भने, ‘आज भएको ठाउँमा भोलि नहुन सक्छ, त्यसैले भावी पुस्ताका लागिसमेत अहिलेको पुस्ताले पानीको संरक्षण गर्नुपर्छ।’ पानी संरक्षणका लागि पनि नयाँ नीति चाहिएको उनको भनाइ थियो।




नेपालमा वार्षिक करिब २ सय अरब घनमिटर पानी विभिन्न नदी नालाबाट तथा १० अरब घनमिटर पुनर्भरण हुने भूमिगत स्रोतबाट उपलब्ध हुने गरेको छ। तर, उपलब्ध जलश्रोतमध्ये १० प्रतिशत मात्र उपयोगमा छ। सन् २०३० सम्म हासिल गर्नुपर्ने संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य हालिस गर्नका लागि जलश्रोतको विकास र व्यवस्थापन प्रत्यक्ष रुपले जोडिएकाले नयाँ नीति आवश्यक परेको मन्त्रालयले जनाएको छ।
प्रस्तावित नीतिको पहिलो प्राथमिकतामा जलस्रोत खानेपानी र घरेलु उपयोगलाई दिइएको छ। त्यसपछि क्रमशः सिंचाई, पशुपालन तथा मत्स्य पालन, जलविद्युत, औद्योगिक प्रयोजन तथा खानीजन्य उपयोग, जल यातायात, धार्मिक, सांस्कृतिक वा वातावरणीय संरक्षण, मनोरञ्जन र पर्यटनलाई राखिएको छ।
यस्तै नीतिमा वन विनाश, भू–क्षय तथा वातावरणमा प्रतिकूल प्रभाव पार्ने गरी अवैज्ञानिक तबरले निर्माण गरिने सडक र बस्तीका साथै नदीबाट ढुंगा, गिटी, बालुवाको अनियन्त्रित दोहन रोकथामका लागि सम्बन्धित सबै निकायबीच समन्वय गरी जलाधार क्षेत्रहरुको संरक्षण गरिने नीतिमा उल्लेख छ। नीतिले जलश्रोतको दिगो व्यवस्थापनका लागि जलाधार एवं भूमिगत जलश्रोतको पुनर्भण्डारण क्षेत्रको संरक्षण गरी जलमा आधारित जीव, वनस्पति, आदिले युक्त प्राकृतिक वातावरण तथा धार्मिक, सांस्कृतिक सम्पदा र सामाजिक वातावरणको संरक्षण गर्ने उद्देश्य लिएको छ।
प्रस्तावित नीतिको मस्यौदामा संघ, प्रदेश र स्थानीय तहबाट हुने सडक लगायत पूर्वाधार निर्माणका क्रममा जलाधार क्षेत्रको संरक्षणका लागि निर्माणपछि कायम गरिनुपर्ने हरियाली, तथा जलाधार संरक्षणसबन्धी मापदण्ड तयार पारी लागू गरिने उल्लेख छ। विकास आयोजनाको डिजाइन गर्दा नै जलश्रोत संरक्षणको मापदण्ड अनुसार भए/नभएको स्पष्ट गनुपर्ने नयाँ व्यवस्था नीतिमा छ। आयोजनाको डिजाइनपूर्व नै संरक्षण मापदण्ड पूरा गरेको प्रमाणपत्र लिनुपर्नेछ। संरक्षणमा लापरबाही भए कारबाहीको व्यवस्थासमेत गरिएको छ।
मन्त्री पुनले संसदको आगामी अधिवेशनबाट नीति पारित गरिने बताएका थिए। मस्यौदालाई अन्तिम रुप लिएर तत्कालै मन्त्रिपरिषद हुँदै सरकारले नीति अनुमोदनका लागि संसदमा लैजाने उहाँले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।