काठमाडौं– सरकारले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनको जिम्मा जर्मनीको म्युनिखलाई दिने तयारीसँगै छलफलमा बोलाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको सञ्चालनको जिम्मा जर्मनीको ‘म्युनिख’ विमानस्थललाई दिने गरी उसलाई छलफलमा बोलाइको हो। प्राधिकरण महानिर्देशक राजन पोखरेलका अनुसार जर्मनीको म्युनिखले बुझाएको लिखत प्रस्तावको विषयमा छलफलका लागि बाेलाइएकाे हाे।
‘जिटुजी’ (नेपाल सरकार– जर्मन सरकार)मार्फत् गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा ‘म्युनिख’लाई दिने प्रक्रिया अन्तिम चरणमा पुगेसँगै छलफलमा बोलाइएको उनको भनाइ छ। कम्पनीसँगको छलफलपछि मन्त्रालयले मन्त्रिपरिषद्बाट नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा व्यवस्थापनको लागि पहिलो चरणमा ३ वर्षको समय तोकेर म्युनिखलाई जिम्मा दिने तयारी गरेको पोखरेल बताउँछन्।
म्युनिखले झन्डै एक महिना अगाडि नै विस्तृत प्रस्ताव पठाउँदै पहिलो चरणमा चार वर्षको सञ्चालनको जिम्मा लिने र त्यसपछि अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने प्रस्ताव राखेको छ। सोही प्रस्तावलाई अन्तिम रुप दिने गरी कम्पनीलाई छलफलमा बोलाइएको मन्त्रालयले जनाएकाे छ। म्युनिखको प्रस्तावमा अर्थमन्त्री डा. युवराज खतिवडादेखि प्रधानमन्त्री केपी शर्मा ओलीसम्म सकारात्मक रहेका छन्। अर्थ मन्त्रालयले भैरहवा विमानस्थल सञ्चालन सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडालिटीमा जान गत वर्ष मंसिरमा सहमति दिएको थियो।
विमानस्थलमा अध्यागमन र सुरक्षाबाहेकको जिम्मा म्युनिखले पाउनेछ। त्यसमा सञ्चालन, व्यवस्थापन र वित्तीय व्यवस्थापनको जिम्मा पर्नेछ। दुईपक्षीय छलफलमा राजस्व बाँडफाँट र शुल्कको विषयमा सहमति खोजिने मन्त्रालय स्रोतको भनाइ छ।
विमानस्थल निर्माणको लागि चिनियाँ कम्पनीसँग सन् २०१४ मा सम्झौता भएको थियो। एसियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१६ देखि निर्माण सुरु गरिएको थियो । सन् २०१८ सम्ममा सञ्चालनमा ल्याउने भनिए पनि सन् २०२० भित्र विमानस्थल सञ्चालनमा आउने अवस्थमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।