काठमाडौं- नवलपरासीको सुनवलमा २२०/१३२ केभी न्यू बुटवल र चितवनको भण्डारामा पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ।
दुवै सबस्टेसनको निर्माण आगामी चैत्र (मार्च २०२०)भित्र सम्पन्न गरी संचालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। दुवै सबस्टेसन आयोजनाको निर्माण प्रगतिको स्थलगत निरीक्षणमा पुगेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धैरै समय लाग्ने अधिकांश सिभिल संरचनाको निर्माण सकिएकाले कुनै अवरोध नआएमा तोकिएकै समयमा काम सकिने देखिएको बताए।
आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिहरुसँग निर्माण प्रगति, बेहोरिएका समस्यालगायतका बारेमा जानकारी लिँदै कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा काम सक्नसमेत निर्देशन दिएका छन्। ‘सबस्टेसनको जग (फाउन्डेसन) हालिएको छ। अधिकांश उपकरणहरु आयोजनास्थलमा आइसकेका छन् भने केही आउनेक्रममा छन्। अब उपकरणहरु जडानको काम मात्रै बाँकी देखिन्छ। बाँकी रहेको सिभिल संरचनाको काम सक्न र उपकरण जडानको कामलाई तीव्रता दिनुहोस्’, घिसिङले निर्देशन दिँदै भने, ‘निर्माण तोकिएकै समयमा सम्पन्न गर्न देखिएका समस्या समाधान गर्न प्राधिकरणले गर्नुेपर्ने काम र सहजीकरण तदारुकताकासाथ गरिदिने छौं।’
मुलुकभित्र उत्पादित विद्युत्काे आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवर्द्धनका लागि आन्तरिक प्रशारण एवं वितरण र अन्तरदेशीय प्रशारण प्रणालीहरुको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माण गरिएको हो।
भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले चैतभित्रमा सबस्टेसन चार्ज गर्ने प्रतिबद्धता जनाएको छ। निर्माणमा अहिले एक सय जनाभन्दा बढी श्रमिक आयोजनास्थलमा खटिएका छन्। कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् कालीगण्डकी किरडोर २२० कभी प्रसारण लाइन हुँदै न्यू बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ।
नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि लागि दोस्रो अन्तरदेशीय प्रसारण लाइन पनि न्यू बुटवल सबस्टेसनबाट सुरु हुनेछ। नेपाल र भारतबीच विद्युत् व्यापारका लागि न्यू बुटवल–गोरखपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण लगानी तथा कार्यान्वयन प्रारुपमा सहमति जुटिसकेको छ। करिब २० बिगाहा जमिनमा निर्माण हुने न्यू बुटवल धनुषाको ढल्केबर सबस्टेसनपछिको दोस्रो ठूलो विद्युत् हब बन्ने छ।
अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मार्फत् दिने अनुदानबाट न्यू बुटवलमा ४०० केभीको अर्को सबस्टेसन पनि बन्ने छ। एमसीसीले तनहुँको दमौलीबाट न्यू बुटवलसम्म ४०० केभी प्रसारण लाइन पनि निर्माण गर्ने छ।
बर्दघाट–न्यू बुटवल २२० केभी र न्यू बुटवल– कोहलपुर (बाँके) ४०० केभी प्रसारण लाइन निर्माण हुँदैछ। चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरिय र विश्वसनीय बनाउन पूर्वी चितवनमा सबस्टेसन निर्माण गरिएको हो।
‘भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत् ३३/११ केभी चैनपुर सबस्टेसनमार्फत् चितवनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ। लामो लाइन र क्षमताले नधान्दा लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्काे प्राविधिक चुहावटको समस्या थियो’, कार्यकारी निर्देशक घिसिङले भने, ‘सबस्टेसन संचालनमा आएपछि प्राविधिक चुहावट करिब ४/५ प्रतिशत घट्ने छ। ग्राहकले पनि गुणस्तरिय, भरपर्दो र पर्याप्त विद्युत् पाउनु हुने छ भने प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने छ।’
मकवानपुरको हेटौंडाबाट भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसनमा ट्यापिङ गरी त्यस क्षेत्रमा आपूर्ति गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।