नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा आइतबार साँझ जेएनयूका विद्यार्थीमाथि आक्रमण भएको छ। आक्रमणबाट छात्र संघकी अध्यक्षलगायतका विद्यार्थी घाइते भएका छन्।
विश्वविद्यालय परिसरमा नै उनीमाथि सांघातिक हमला भएको बताइएको छ। बाहिरबाट विश्वविद्यालय परिसरमा प्रवेश गरेका नकावधारी व्यक्तिहरूले विद्यार्थीमाथि आक्रमण गरेका थिए।
प्रत्यक्षदर्शीका अनुसार जेएनयूमा ५० भन्दा बढी व्यक्ति घुसेका थिए। 'उनीहरूले लाठी तथा डण्डी बोकेको थिए। अधिकांशले नकाव धारण गरेका थिए,' एक प्रत्यक्षदर्शीले भने। विश्वविद्यालय प्रवेश गरेपछि उनीहरूले छात्र संघकी अध्यक्षसहित अन्य विद्यार्थीमाथि आक्रमण सुरु गरेका थिए।
नकावधारी आक्रमणकारीले कैंयौं विद्यार्थी घाइते बनाएका छन्। सात एम्बुलेन्स तत्कालै पठाएर उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको दिल्ली सरकारले बताएको छ। दिल्ली पुलिसले अहिले ठूलो संख्याका प्रहरी विश्वविद्यालयको मेन गेटमा परिचालन गरेको छ।
उता घटना निन्दनीय भएको भन्दै भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम यचुरीले ट्वीट गरेका छन्। यसैगरी, आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले समेत घटनाको निन्दा गरेका छन्।
.png)
उत्तरप्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव पनि ट्विट गर्दै घटना निन्दनीय भएको उल्लेख गरेका छन्।
'जेएनयूमा जसरी नक़ावधारी अपराधीले विद्यार्थी तथा अध्यापकमाथी हमला गरेका छन् त्यो ज्यादै निन्दनीय छ। यो विषयमा तत्काल उच्च स्तरीय न्यायिक जाँच हुनुपर्छ,' ट्विटमा उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।