काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको टोलीले भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको छ। नाडा अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको टोलीले भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई भेटी फेयर ट्रेडलगायत भन्सार प्रशासन, भन्सार मूल्यांकन र भन्सार जाँचपासका क्रममा देखिएका प्रक्रियागत समस्याबारे छलफल गरेको हो।
सो छलफलमा महानिर्देशक दाहालले व्यवसायीहरुले फेयर ट्रेडको अनुकरण गर्नुपर्ने र संस्थाले त्यसका लागि आवश्यक वातावरण तयार गरि दिनुपर्ने धारणा राखे। सोही क्रममा उनले पैठारी गर्ने कम्पनीहरु आफैले कर्मचारी राखी क्लियरेन्स एजेण्टसमेतको काम गर्न पाउने व्यवस्था गरिएको बताए। नेपालको आधिकारिक एजेन्सीले मात्र पैठारी गर्न पाउनु पर्ने नाडाको सुझाव मननीय रहेकोसमेत दाहालले बताए।
छलफलका क्रममा दाहालले विल अफ एक्सपोर्टको कागज नआइकन भन्सार क्लियरेन्स पनि हुन नसक्ने बताउँदै भन्सार विभागको मुख्य जिम्मेवारी भनेको व्यापार सहजीकरण भएको र भन्सार विभागले अहिले झण्डै सतप्रतिशत आशिकुडाअनुसार कार्य गर्दे आएको दाबी गरे। त्यसैगरी साफ्टा सुविधामा धेरै दुरुपयोग भएकाले यसमा सहकार्य गरेर अघि बढ्ने भन्दै उनले नाडाजस्तो संस्थामार्फत काम गर्न सहज हुने भए पनि सरकारले संघसंस्थालाई वास्तविक रुपमा उपयोग गर्न नसकेको धारणा राखे।
महानिर्देशक दाहालले नाडासँग गरिएको समझदारीलाई आफना सबै सदस्यमा पु¥याउनु पर्ने, व्यवसायको शुद्धीकरण आफैंबाट सुरु गर्नुपर्ने, व्यवसाय गर्नेले भन्सार र कर सम्बन्धमा आवश्यक जानकारी राख्नु पर्ने उल्लेख गरे। यसैलाई मूर्तरुप दिन भन्सार विभागले प्रत्येक वर्ष भन्सार दिवस मनाउँदै आएको र नाडाले पनि यस्तो दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरोस भन्ने अपेक्षा गर्दै आएको बताए।
उक्त छलफलमा नाडाका अध्यक्ष दुलालसहित महासचिव सुनील रिजाल, सचिव अनुपकुमार बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रति, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल र कपिल शिवाकोटी समेतको उपस्थिति थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।