सांकेतिक तस्बिर
पाेखरा- ‘स्वदेशी उत्पादनबाट समृद्धि खोजौँ’ भन्ने सोचसाथ पोखराका महिलाले सिसाकलमको उत्पादन सुरु गरेका छन्। साना–साना उद्योगबाट परनिर्भरता घटाउन सकिने ध्येयले पोखराका १५ महिला उद्यमीले नेपाली सिसाकलमको उत्पादन गरेर बजारमा ल्याएका हुन्। उत्पादनले अहिले राम्रो बजारमा राम्रो स्थान पाएको छ।
शिक्षण पेशामा आवद्ध महेश्वरी पराजुलीले १० वर्ष लामो शिक्षण पेशा छाडेर सिसाकलम उद्यमशीलतातर्फ अग्रसर भएकी छन्। पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन उनका श्रीमान् सचित पराजुलीले युट्युबबाट जानकारी लिएपछि उद्योगका लागि सल्लाह दिएका थिए। खेर गएको कागजलाई पुनःप्रयोग गरेर सिसाकलम बनाउन सकिने जनाइएको छ।
चीनबाट रु १३ लाखमा सिसाकलम बनाउने उपकरण ल्याएर महेश्वरीले उत्पादन गर्न थालेकी हुन्। पछि एक्लैभन्दा दिदीबहिनीको समूहबाट व्यवसाय सञ्चालनले धेरै दिदीबहिनी उद्यमशील हुने र आर्थिक रूपमा पनि सवल हुनसक्ने भन्दै उनले १५ जना महिलाको समूह बनाइन्।
हाल विन्ध्यवासिनी दिदीबहिनी समूहको नामबाट सञ्चालित नेपाली सिसाकलम उद्योग पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीमा रहेको छ। समूहका १५ सदस्यले रु ५०/५० हजार रकम लगानीबाट उक्त उद्योग सञ्चालन ल्याएको महेश्वरी जानकारी दिइन। उनले भनिन्, 'महिला सधैँ निकै परम्परागत पेशामा मात्र सीमित भएका छन्, अब केही फरक तरिकाबाट महिला उद्यमशील हुनुपर्छ। सधैं एउटै तालीमभन्दा प्रविधिमैत्रीदेखि लिएर नयाँ–नयाँ तालीममा महिला जोडिनुपर्छ।'
हाल समूहका आठ जना उत्पादन लागि नियमित खटिदै आएका छन्। दैनिक एक हजार बढी उत्पादन हुने सिसाकलमको एक प्रतिको रु १० र दर्जनको रु १०० मा बिक्री वितरण हुँदै आएको महेश्वरीले जानकारी दिइन्।
पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको स्टल नं १३ मा हाल उक्त सिसाकलमको बिक्री वितरण भइरहेको छ। नियमित सम्पर्क र एकचोटी प्रयोग गरेकाले पुनः प्रयोग गर्ने भएकाले उत्पादनको माग राम्रो भएको सञ्चालकमध्येकी एक लक्ष्मी पौडेल लामिछानेले बताइन्। 'हामीले अहिले स्टेशनरीलाई उपलब्ध गराएका छैनाैं। यो आकर्षक देखिँदैन तर एकदम बलियो छ, यसलाई विद्यार्थीमा विस्तारै बानी पार्ने अभ्यासमा हामी छाैं।'
सिसाकलममा प्रयोग हुने ‘लिड’ भारत र चीनबाट आयात गरिँदै आएको र पत्रपत्रिकाचाहिँ स्थानीयरूपमै उपलब्ध हुने गरेको उनले बताइन्। फेभिकोल (गम) र पत्रिकाले सिसाकलमको लिडलाई बेरेर बनाइन्छ। मेशिनको काम कम र हातको काम बढी हुने भएकाले मेहेनत बढी पर्ने अर्की सञ्चालक शान्ति अधिकारीले बताइन्।
नेपाली सिसाकलमको उत्पादनदेखि नै आफ्नो बालबालिकालाई प्रयोग गर्दै आएकी पोखरा महानगरपालिका वडा नं ३ की मीना शर्माले ‘राम्रो लेख्ने, छिटो नभाँचिने’ भएकाले यसको प्रयोग गराउँदै आएको बताइन्। उनले भनिन्, 'यो वातावरणमैत्री पनि छ र बलियो पनि छ, अर्को कुरा हामीजस्तै अभिभावकले स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ।'
आर्थिक समृद्धिका लागि उद्यमशीलता आजको आवश्यकता भएकाले स्वदेशी र स्थानीय उत्पादनलाई जोड दिनुपर्ने कास्की पोखरा हस्तकला सङ्घका अध्यक्ष एवं महिला उद्यमी हीरा भट्टराईकाे भनाइ छ। नेपाली सिसाकलमको प्रचार–प्रसार गर्न सके र यसको महत्वलाई उजागार गर्न सके भारत एवं चीनबाट आयात हुने सिसाकलमलाई नेपाली बजारले छिट्टै विस्थापन गर्न सकिने विश्वास भट्टराईको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।