धनगढी– भारतीय राजदूत मन्जिव सिंह पुरीले प्रदेश ७ को आर्थिक विकासका लागि दुई देशका सिमावर्ती प्रदेशहरूबीच व्यापारिक सम्बन्ध बढाउनुपर्ने बताएका छन्।
नेपाल भारत मैत्री संघ कैलालीले धनगढीमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै राजदुत पुरीले आर्थिक विकासका लागि दुई देशका सिमानाकाहरुलाई व्यवस्थित गर्नुपर्ने बताएका हुन्।
‘नेपालको सात नम्बर प्रदेशसँग भारतका उत्तराखण्ड र उत्तर प्रदेश राज्यको सिमा जोडिएको छ’, राजदूत पुरीले भने,‘भारतका यी दुई सिमावर्तीं राज्यसँग नेपालको प्रदेश नम्बर ७ ले व्यापारिक सम्बन्ध बढाएमा तीव्र आर्थिक विकास सम्भव छ।’
राजदूत पुरीले नेपाल र भारतको सिमामा सडक सञ्जाल तथा रेल्वे विस्तार लगायतका काम आवश्यक रहेको बताए। ‘दुई नागरिकको आवतजावतका लागि त सडक छदैँछ। तर व्यापारका लागि रेल्वे सेवा आवश्यक हुन्छ’, उनले भने, ‘यसका लागि भारतीय सरकारले उत्तराखण्ड राज्यबाट चाँदनी–दोधारासम्म रेलवे विस्तार गर्ने तयारीमा रहेको छ।’
राजदूत पुरीले भारत सधैं नेपालको आर्थिक विकासका लागि तत्पर रहेको चर्चा गरे। उनले थपे,‘दुई देशबीचको व्यापारिक सम्बन्ध अझै फराकिलो बनाउन नेपाल सरकारबाट कुनै योजना तथा कार्यक्रम आएमा भारतले सहयोग गर्ने छ।’
राजदूत पुरीले पर्यटन, वातावरण लगायतका कारणले भारतले कैलालीको धनगढीसँग जोडिएको गौरिफन्टा नाकाको स्तरोन्नती गर्न नसकिने स्पष्ट पारे। उनले भने,‘हामी दुई देशबीचको व्यापारिक सम्बन्ध बढाउन चाहन्छौँ, तर वातावरण र भुगोलमा प्रभाव पार्न सकिदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।