काठमाडौं- नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि ९ जनाको नाम सिफारिस गरिएको छ।
२०७६ मंसिर १८ गते पहिलोपटक २१ दिनको समय दिएर माग गरिएको आवेदनमा परेका १७ जना उम्मेद्वारमध्येबाट ९ जनाको नाम 'सर्टलिस्ट' गरिएको छ। कार्यकारी प्रमुख छनौट उपसमितिको सचिवालयले ९ जनाको नाम सर्टलिस्ट गरेको हो।
छनौट भएका उम्मेदवारलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरणसहितको अन्तर्वार्ताका लागि बोलाउने निर्णय पनि गरेको छ।
पर्यटनबोर्डको सिइओका लागि १७ जनाले आवेदन दिएका थिए।
जसमध्ये काशीराज भण्डारी, दीपक बाँस्कोटा, दीपकराज जोशी, धनञ्जय रेग्मी, नविन पोखरेल, रोहिणीप्रसाद खनाल, सन्तोष विक्रम थापा र हिक्मत सिंह ऐरको नाम सिफारिस गरिएको हो।
सर्टलिस्ट गरिएका व्यक्तिहरुमध्ये दीपकराज जोशी पर्यटन बोर्डका निवर्तमान सिइओ हुन्। निवर्तमान सिइओ जोशीको चारवर्षे कार्यकाल सन् २०१९ डिसेम्बर २३ मा सकिएको थियो। तर त्यसपछि तीन महिनाका लागि बोर्डको नेतृत्व उनले नै सम्हाल्दै आएका थिए। पदावधि समापन भए पनि जोशीले पदावधि सकिएको पत्र बुझेका थिएनन्।
यसैगरी बोर्डमा सिइओका लागि सिफारिस भएका अर्का व्यक्ति बच्चुनारायण श्रेष्ठ भिजिट नेपाल सचिवालयको सदस्य-सचिव हुन्।
श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भिजिट नेपाल २०२० सचिवालयको सदस्य-सचिवमा नियुक्त गरेका थिए।
श्रेष्ठ यति ग्रुपअन्तर्गतका विभिन्न कम्पनीको सल्लाहकारको रुपमा काम गरिरहेका व्यक्ति हुन्।
पासाङ ल्हामु शेर्पा प्रतिष्ठानका महासचिव रहेका श्रेष्ठले तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पाको सल्लाहकारसमेत भएर कार्य गरेका थिए।
यति समूहले यसअघि पनि पर्यटन बोर्ड प्रभाव देखाउने गरेको थियो। पर्यटन बोर्ड सदस्यमा नियुक्त भएका कृष्ण अर्याललाई यति समूहकै जोडबलमा बोर्डमा नियुक्त गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।