बुटवल- बुटवल कोरिडोर अन्तर्गतका सडक पूर्वका उद्योगीहरुले आफूहरुलाई पुरानै अमुवा फिडरबाट विद्युत् उपलब्ध गराउन माग गरेका छन्।
नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीको भरललिया फिडरबाट उच्च दररेटको नयाँ ट्रंकलाईनबाट विद्युत् जडान गर्दा आर्थिक भार थेग्न नसक्ने भन्दै उनीहरुले पुरानै दरमा अमुवा फिडरबाट विद्युत् उपलव्ध गराउन माग गरेका हुन्। उद्योगीहरुले नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय बुटवलका प्रबन्धक नवराज सुवेदीमार्फत् शुक्रबार उद्योग र उर्जा मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै ट्रंक लाइनबापतको उच्च मूल्य समायोजन नभए उद्योगको ताला चाबी विद्युत् कार्यालयलाई बुझाउनुको विकल्प नभएको बताए।
उद्योगीहरुका अनुसार अहिले पनि कतिपय ठाँउमा न्यून भोल्टेज तथा कतिपय ठाँउमा उच्च भोल्टेजका कारण उद्योगमा ट्रिपिङको समस्या रहेको छ। भैरहवा–बुटवल कोरिडोरका १६ वटा उद्योगीले हालको ट्रंकलाईनबाट उपलब्ध गराइँदै आएको विद्युत् महशुल ६६ दशमलव ६७ प्रतिशत उच्च दररेटको महंगो भएको भन्दै यसको भार थेग्न नसक्ने बताए। नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय बुटवलका प्रबन्धक सुवेदीले आगामी एक वर्षभित्रमा समस्या समाधान हुने बताए।
उनले रुपन्देहीको मैनहियामा १३२ किविए संरचनासहितको शवस्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले १ वर्षपछि कुनै समस्या नहुने बताए। उनले उद्योगीहरुले दिएको ज्ञापन सम्बन्धित निकायमा पठाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।