काठमाडौं– मेडिकल सञ्चालकसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा लागेका औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निर्देशक पुष्पराना क्षेत्री धरौटीमा रिहा भएका छन्।
घुस लिएबो २८ हजार रुपैयाँसहित पक्राउ परेका क्षेत्री बिहीबार विशेष अदालतबाट सोही रकम धरौटी बुझाएर रिहा भएका हुन्।
बाँकेको एक रेस्टुरेन्टबाट घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरको टोलीले सोमबार क्षेत्रीलाई पक्राउ गरेको थियो।
औषधि व्यवस्था विभागका फार्मेसी निरीक्षकलाई मेडिकलको अनुगमन, निरीक्षण, कारबाही सिफारिस गर्ने लगायतको जिम्मेवारी हुन्छ। मेडिकल सञ्चालकसँग घुस मागेको भन्ने उजुरीका आधारमा औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका निरीक्षकलाई आयोगले अनुसन्धान गरिरहेको थियो।
नेपालगन्जको औद्योगिक क्षेत्र नजिकैको चिकेन–६५ होटलमा नगद रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियार टोलीले क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।