काठमाडौं- अन्नपूर्ण सुगर मिलले सर्लाहीका उखु किसानहरुको सबै बक्यौता रकम एक महिना भित्रमा भुक्तानी दिने भएको छ।
शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उपस्थित भइ मिल सञ्चालक राकेशकुमार अग्रवालले किसानहरुको बक्यौता एक महिनाभित्र उपलब्ध गराउने भन्दै लिखित प्रतिबद्धता जनाएका हुन् ।
बिहीबार र शुक्रबार दुई दिन गरेर किसानको खातामा ५० लाख रकम पठाइएको मिल सञ्चालक अग्रवालले बताएको मन्त्रालयका सहसचिव दिनेश भट्टराईले नेपाल लाईभलाई जानकारी दिए ।
‘मन्त्रालयमा उनले लिखित प्रतिबद्धता जनाएका छन्। पुस २५ गते भित्र५ करोड रुपैयाँ भुक्तानी गर्छु र माघको पहिलो हप्तामा थप ७ करोड भुक्तानी गरेर १२ करोड भुक्तानी गर्ने लिखित प्रतिबद्धता गरिएको छ’ सहसचिव भट्टराईले भने, ‘अग्रवालले एक महिनामा सबै बक्यौता चुक्ता गर्छु भनेका छन् त्यसका लागि स्टक रहेको चिनी बेच्न मन्त्रालयले सहयोग गरिदिनु पर्छ भनेका छन् ।’
मन्त्रालयले पनि अग्रवालको चिनी बिक्रीका लागि सहयोग गर्ने भएको छ। बक्यौता रकम नपाएपछि सर्लाही सिसौटीयाका किसानहरु १० दिन यता काठमाडौंमा आन्दोलनरत छन्। ५ वर्षदेखि बक्यौता रकम नपाएका उनीहरु आफूहरुले बक्यौता नपाएसम्म नफर्कने अडान राखेका छन् ।
राकेश अग्रवाल सञ्चालक रहेको अन्नपूर्ण सुगर मिलले ५० करोड रुपैयाँ तिर्न बाँकी रहेको किसानहरुले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।