काठमाडौं- सरकारले क्यासिनो सञ्चालनका लागि चुक्तापूँजी २५ करोड हुनुपर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको पर्यटन ऐन २०७६ का लागि तयार पारेको विधेयकमा क्यासिनो सञ्चालनका लागि २५ करोड चुक्ता पुँजी हुुनुपर्ने उल्लेख गरेको छ।
साथै क्यासिनो सञ्चालन इजाजत दस्तुर भने वार्षिक २ करोड ५० लाख गरिने विधेयकमा उल्लेख छ। क्यासिनो सञ्चालकले पछिल्लो समय सरकारलाई दस्तुर नतिरेपछि सञ्चालनमै कडाइ गर्ने गरी कानुन ल्याउन लागेको हो।
विधेयकमा आधुनिक मेसिन वा उपकरणको माध्यमबाट खेलाइने खेलको हक दर्ता हुने मिनि क्यासिनोको चुक्ता पुँजी १५ करोड हुनुपर्ने व्यवस्था राखेको छ। साथै मिनि क्यासिनोको वार्षिक इजाजत दस्तुर भने १ करोड २५ लाख रुपैयाँ हुनुपर्ने व्यवस्था विधेयकमा राखेको छ।
क्यासिनो सञ्चालनका लागि सबैभन्दा पहिलो कम्पनीमा दर्ता हुनुपर्ने व्यवस्था विधेयकमा छ। कम्पनी दर्ता गर्दा पनि सबैभन्दा पहिले पर्यटन विभागमा निवेदन दिनुपर्ने हुन्छ। निवेदन दिने व्यक्ति कम्तिमा पाँच तारे वा सो सरहको रिसोर्टको स्वामित्वमा भए सोको प्रमाण र आफ्नो स्वामित्वमा नभएमा सञ्चालकले आफ्नो परिसरमा कम्तिमा पाँच वर्षका लागि क्यासिनो सञ्चालन गर्न दिने लिखित सम्झौता पेस गर्नु पर्ने व्यवस्था विधेयकमा राखिएको छ।
तर, आधुनिक मेसिन वा उपकरण (मिनी क्यासिनो) को माध्यमबाट मात्र खेलाइने खेलको हकमा कम्तिमा ४ तारे स्तरको होटल सञ्चालकसँग गरेको कम्तिमा ५ वर्षको सम्झौता पेस गर्नुपर्ने विधेयकमा समावेश छ।
तर, सीमा क्षेत्रबाट ३ किलोमिटर क्षेत्रमा पर्ने गरी क्यासिनो सञ्चालन इजाजत नपाउने व्यवस्थासमेत विधेयकमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।