पथरी– पुस्तकको अभाव हुन नदिनका लागि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले निजी क्षेत्रका प्रकाशन गृहमा पुगेर पुस्तकको अवस्थाको बारेमा जानकारी लिएका छन्।
मन्त्री घिमिरेले हरेक वर्ष जस्तो पुस्तक अभावको समस्या आउन नदिन मन्त्रालयस्तरबाट पहल शुरु भएको जानकारी दिए।
‘गत वर्षको जस्तो समस्या आउने अवस्था छैन।,’ उनले भने,‘यदि निजी क्षेत्रका मुद्रण व्यवसायीले अभाव गराउने उद्देश्य राख्छन् भने उनीहरुको लाइसेन्सको विषयमा सोच्नुपर्छ।’
मन्त्री घिमिरेले निजी क्षेत्र तथा जनक शिक्षा सामग्री केन्द्र सबैले पुस्तकको अभाव हुन नदिने भन्दै प्रतिबद्धता जनाएकाले यदि कसैले पुस्तक हुँदाहुँदै पनि पुस्तक छैन भन्छ भने कारबाहीको दायरामा ल्याउने प्रस्ट पारे।
यता जनक शिक्षा सामाग्री केन्द्रले प्रदेश १ का पहाडी जिल्लामा ९५ प्रतिशत पुस्तक पुर्याइसकेको दाबी गरेको छ। केन्द्रका प्रमुख ज्ञाननाथ चिमरियाले यो वर्ष प्रदेश १ मा पाठ्यपुस्तक अभाव नहुने जानकारी दिए। उनले यो वर्ष पाठ्यपुस्तक अभाव हुन नदिनका लागि जनक शिक्षा सामग्री केन्द्रले आफ्नो कामलाई तिब्र पारेको बताए। बैशाख ७ गतेसम्ममा सबै विद्यालयमा पुस्तक पुर्याउने गरी काम भइरहेको चिमरियाले जानकारी दिए।
प्रदेश १ का जिल्लामा २५ लाख ६८ हजार पुस्तक आवश्यक रहेकोमा २१ लाख ६ हजार ८ सय ६२ पुस्तक आइसकेको र अधिकांश पुस्तक वितरण भइरहेको चिमरियाको भनाइ छ।
मागको आधारमा जनक शिक्षा सामग्री केन्द्रमार्फत डिलरहरुमा जानुपर्ने पुस्तकमा अब ४ लाख ६१ हजार ५ सय ८८ पुस्तक आवश्यक रहेको छ। कक्षा १ देखि ५ सम्मका पुस्तकको छपाइको जिम्मेवारी पाएका निजी मुद्रण कम्पनीहरुले १४ वटै जिल्लामा पुस्तक पुगिसकेको जनाएका छन्। ‘फ्ल्यास रिपोर्ट’का आधारमा सबै पुस्तक नजाने भएकोले ४० प्रतिशत मात्र पुस्तक विद्यालयले लग्ने गरेको नेपाल मुद्रण व्यवसायी संघ जनाएको छ।
संघका मोरङ अध्यक्ष लभकुमार घिमिरेले १ लाख २७ हजार ८ सय पुस्तक ‘फ्ल्यास रिपोर्ट’मा माग भएकोमा ११ हजार ७ सय १० सेट पुस्तक मात्र बिक्री भएको जानकारी दिए। उनका अनुसार ‘फ्लास रिपोर्ट’का आधारमा अहिलेसम्मको अवस्थालाई हेर्दा कुनै पनि विद्यालयले शतप्रतिशत पुस्तक नलाने दावी गरे।
पर्याप्त पुस्तक छपाई भएकोले पुस्तक अभाव हुनै नसक्ने घिमिरेको दाबी छ।
(गोपालप्रसाद पोखरेल/रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।