दार्चुला- भारतीय पक्षले व्यास गाउँपालिकाको वडा नम्बर २ मा पर्ने अन्तर्राष्ट्रिय सीमानदी महाकालीमा फेरि अस्थायी काठे पुल लगाएको छ।
व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ्गका बासिन्दाले भारतीय पक्षले लगाएका पुल धमाधम भत्काएपछि फेरि पुल लगाएर नेपाली भूमि मिच्न खोजिएको छ।
व्यासका २ दुम्लिङ्गका बासिन्दाले राप्लाको तल्लो दुम्लिङ्गस्थित महाकाली नदीमा आफूहरुलाई भारतीय पक्षले अस्थायी पुल राख्न अवरोध गरेको भन्दै मंगलबार बेलुकी भारतीय पक्षका पुल भत्काएका थिए। भारतीय पक्षले केन्द्र सरकारको अनुमति लिएर मात्रै पुल लगाउन भने पछि स्थानीयवासीले उनीहरुले लगाएका पुल भत्काइदिएका थिए।
'भारतीय पक्षले अन्तर्राष्ट्रिय सीमानदीको रुपमा रहेको महाकालीमाथि धमाधम पुल लगाउन मिल्ने, हामीले लगाउँदा केन्द्र सरकारको अनुमति चाहिने भन्दा रिस उठ्यो, भारतीय पक्षले लगाएका ५ वटा अस्थायी पुल फालिदियौं,' व्यास २ दुम्लिङ्गका बासिन्दा नरेन्द्र बुढाथोकीले भने। भारतीय पक्षले लगाएका ८ पुलमध्ये ५ पुल भत्काएको र ३ पुल भत्काउन बाँकी रहेको उनको भनाइ छ।
भारतीय पक्षले व्यास गाउँपालिकाको वडा नम्बर २ को ताम्पाक, नजांग, घाटीबोगड, मल्लो घाटीबोगड र वडा नम्बर १ को छाङकाङरी र बुदीमा अस्थायी काठे पुल लगाएर भारतपट्टि निर्माण भइरहेको सडकमा काम गर्ने मजदुरलाई आवतजावत गराइरहेको छ।
यसअघि राप्लाका बासिन्दाले मानव बस्ती नै नभएको स्थानमा भारतीय पक्षले नेपालको अनुमति विना नै महाकाली नदीमा अस्थायी काठे पुल लगाएको भन्दै विरोध गरेका थिए। साथै उनीहरुले तल्लो दुम्लिङ्ग र माल क्षेत्रमा अस्थायी पुल निर्माणका लागि भारतीय पक्षसँग पहल गर्न नेपाली प्रशासनको ध्यानाकर्षणसमेत गराएका थिए।
फागुन २१ गते भारतको पिथौरागढमा दुवै देशका सुरक्षा अधिकारीबीच भएको सीमा सुरक्षा बैठकमा नेपाली पक्षले थप दुई अस्थायी पुलका लागि अनुरोध गरेको थियो। राप्लाका बासिन्दाले तल्लो दुम्लिङ्गस्थित महाकाली नदीमा अस्थायी पुल राख्न खोज्दा भारतीय सुरक्षाकर्मीले अवरोध गरेको स्थानीयवासीले बताएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।