काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मार्फत् आउने सहयोग आर्थिक सहायताको रुपमा स्वागत गर्नुपर्ने टिप्पणी गरेकी छन्।
एमसिसीमार्फत् सहयोग लिने सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे सत्तारुढ नेकपाभित्र विवाद चर्किरहेका बेला चिनियाँ राजदूतको यस्तो भनाइ आएको हो। पत्रकार सम्मेलन गर्दै उनले नेपालले आर्थिक सहायता अस्वीकार गर्न नहुने तर्क अघि सारेकी हुन्।
‘नेपाल एउटा अल्पविकसित देश हो। नेपाललाई चीनबाट मात्र होइन, अन्य अन्तर्राष्ट्रिय समुदायबाट पनि विकासका लागि साथ सहयोग चाहिन्छ,’ उनले चिनियाँ दुतावासमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘नेपालका लागि आउने कुनै पनि प्रकारको सहयोगलाई स्वागत गर्नु पर्दछ। हामी पनि स्वागत गर्छौं।’
उनले यो आर्थिक सहयोगको अर्थमा आएको भए नेपालले गुमाउन नहुने बताइन्। नेपालका राजनीतिक दलहरु, सरकार र संसदमा यसलाई अनुमोदन गर्नेबारे व्यापक छलफल भइरहेको र यसबारे नेपालले आफैं स्वतन्त्र निर्णय लिन सक्षम रहेको उनकाे।टिप्पणी थियो। ‘आर्थिक र व्यापारिक सहयोगबारे नेपालले आफैं निर्णय लिनसक्छ भन्ने हाम्रो विश्वास छ, अरु कुनै शक्तिले हस्तक्षेप गर्नु आवश्यक छैन’, चिनियाँ राजदूतले भनिन्।
बालुवाटारस्थित दुतावासमै आयोजना गरेको पत्रकार सम्मेलनमा राजदुत होउले नेपालको आफ्नै परराष्ट्र नीति भएकाले सोही अनुरुप निर्णय लिन सक्षम रहेको बताइन्। उनले आर्थिक क्षेत्रका लागि हुने यी सबै सहयोग समानताका आधारमा, नेपाली जनताको फाइदाका लागि र नेपालको राष्ट्रिय हितका पक्षमा हुने विश्वास रहेको बताइन्।
‘एमसिसी अनुमोदन गर्ने प्रक्रियामा नेपाल सरकारले नेपालकै हितमा एउटा सकारात्मक निर्णय लिनेछ भन्ने विश्वास छ’, होउले थपिन् ‘ सार्वभौम देशले आफ्नो हितमा निर्णय लिने हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।