काठमाडौं– पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टको बहिर्गमनसँगै श्रम मन्त्रालयमा उनले च्यापेर राखेका दुई सहसचिवको सरुवा भएको छ। तत्कालीन मन्त्रि बिष्टको विश्वासपात्रका रुपमा रहेका सहसचिवद्वय डा रामप्रसाद घिमिरे र डा नारायण रेग्मीको सरकारले सरुवा गरेको हो।
सरकारले मन्त्री बिष्ट श्रममन्त्री हुँदा नै बरिष्ठ सहसचिवहरुलाई प्रदेश पठाउने निर्णय गरेको थियो। तर मन्त्री बिष्टले आफ्ना जिल्लाबासी समेत रहेका सहसचिव घिमिरेलाई बाहिर जान दिएनन्। सहसचिवको सूचीमा घिमिरेभन्दा बरिष्ठ र उनीभन्दा कनिष्ठ केही बाहिर गएपनि उनी श्रममै बसेका थिए।
घिमिरे यसअघि नै अर्थमन्त्रालय सरुवा हुन खोजेको भए पनि पाएका थिएनन्। सचिव हुन करिब १ वर्ष बाँकी रहँदा उनको अर्थमा सरुवा भएको छ। रेग्मीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाइएको छ। रेग्मीलाई अर्थ मन्त्रालयबाट बिष्टले नै श्रम लगेका थिए। छोटो समय आन्तरिक राजस्व विभागको उपमहानिर्देशक रहेका उनी त्यसपछि श्रम गएका थिए।
गत सोमबार बसेको मन्त्री परिषदको बैठकले श्रम मन्त्रालयका सहसचिव द्वयसहित ८ सहसचिवको सरुवा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सहसचिव शिवराम न्यौपानेलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ।
यसैगरी अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागमा रहेकी मनमाया पंगेनीलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ। कृषि मन्त्रालयका रघुराम विष्टलार्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्र शर्मा र उद्योग मन्त्रालयका रामचन्द्र ढकाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ।
त्यसअघि अर्थ मन्त्रालयका सहसचिव तुलसी सेढाईंको गृह मन्त्रालय सरुवा भैसकेको छ। अर्थ मन्त्रालय छँदै प्रमुख जिल्ला अधिकारीको तालिम लिएर बसेका उनी अर्थको अन्तर सरकारी वित्त व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी पाएपछि असन्तुष्ट थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।