झापा – इलाका प्रहरी कार्यालय अनारमनी, झापाले विगत आठ महिनाको अवधिमा ठूलो संख्यामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
गत जेठमा अनारमनीको प्रहरी प्रमुख भएर जिम्मेवारी सम्हालेका डिएसपी मोहन थापाको कमाण्डमा अनारमनी प्रहरी आपराधिक गतिविधिमा संलग्न व्यक्ति पक्राउ गर्न सफल भएको हो ।
हनी ट्रयापमा संलग्न, विप्लव कार्यकर्ता, भिआइपी ठग, लागु औषध कारोबारी, चोरीमा संलग्न लगायत आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई पक्राउ परेको थियो ।
गत साउन १ गते विर्तामोड नगरपालिका–४ बस्ने व्यवसायी अमरजित साहलाई युवती प्रयोग गरी हनी ट्रयाप शैलीमा लुटपाटमा गर्ने गिरोह पक्राउ गरेको थियो ।
हन्टर सुजन, सञ्जु क्षेत्री भन्ने सुजन शंकर, मेराज खान, पिके भन्ने प्रकाश चन्द्र दास, काशिद आलम भन्ने मोहमद काशेक शेखको योजनामा व्यवसायी साहलाई अपहरण गरी कोठामा राखेर कपडा खोल्न लगाई नांगै भिडियो बनाइएको थियो ।
उक्त भिडियोमा सामाजिक सञ्जालमा पोस्ट गर्ने भन्दै धम्की दिएपछि ४० लाख दिने सहमतिमा व्यवसायीलाई उनीहरुले छाडेका थिए । उक्त घटनामा संलग्नहरुलाई डिएसपी मोहन थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको थियो ।
त्यस्तै ७ वर्ष देखि ठगी धन्दा गर्दै आएको व्यक्तिलाई पक्राउ गर्न डिएसपी थापा सफल भएका थिए ।
सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग नजिक भई ललाई फकाई प्रलोभनमा पारी क्यानडा लैजान्छु भनी सन् २०१२ देखि हालसम्म करिव ८०० व्यक्तिहरुवाट करोडौ ठगी गरी फरार भएको व्यक्ति मोरङ उर्लावारी वस्ने राम वहादुर खड्कालाई पक्राउ कानूनी दायरामा डिएसपी थापाले ल्याएका थिए ।
त्यस्तै नक्कली एयर होस्टेज झापाको अर्जुनधारा नगरपालिका–६ वस्ने तविता राईलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन अनारमनी प्रहरी सफल भएको थियो । उनले जेट एयरलाइन्सको एयर होस्टेज हुँ भनी विभिन्न नाममा नक्कली फेसवुक आइडी खोलेर फेसबुकमा साथी बन्दै विवाह गर्ने नाटकमा युवाहरुसँग रकम ठगी गरेकी थिइन् ।
प्रतिबन्धित विप्लव समूहमाथि पनि डिएसपी थापाको कमाण्डमा कारबाही भएको थियो ।
झापा जिल्लाका विभिन्न स्थानहरुमा वम विष्फोटन, एनसेल टावरहरुमा आगजनी तथा विष्फोटन, विष्फोटक पदार्थ भण्डारण, जवरजस्ती चन्दा असुली गर्ने गराउने जस्ता आपराधिक गतिविधिमा संलग्न विप्लव समूहका ११ जना पक्राउ गरी कारबाही गरिएको डिएसपी थापाले जनाए ।
आठ महिनाको अनारमनी प्रमुख भएर काम गरेका डिएसपी थापाको अख्तियारको केन्द्रीय कार्यालयमा कज सरुवा भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।