ताप्लेजुङ- ताप्लेजुङको फुङलिङ नगरपालिका–१० फुरुम्बुस्थित सोगिरा भीरमा लगाएको आगो फैलिएर गाउँमा पस्दा एक घर जलेर नष्ट भएको छ। आगलागीले स्थानीयवासी चन्द्रबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो।
करिब दुई सय मिटर मुनि रहेको सोगिरा भन्ने भीरमा स्थानीयवासीले लगाएको आगोको झिल्का फैलिएर छानामा पुगेपछि घरमा आगलागी भएको छिमेकी मनकुमारी कार्कीले बताइन्।
आगलागीले तीनतले टिनको छानो भएको घर र घरभित्र राखिएकोे ठूलो परिमाणको काठ, अन्नपात, लत्ताकपडा लगायतका सामग्री जल्दा करिब रु १२ लाख मूल्य बराबरको धनमाल क्षति भएको छ। आगालागी पीडित परिवार भने अर्कै घरमा सरेर बसेका छन्।
भीरमा आगो लगाउने व्यक्तिले भने जानजान आगो नलगाएको भन्दै क्षति बेहोर्ने बचन दिएको पीडित परिवारले बताएका छन्। पछिल्लो तीन महिनामा मात्रै ताप्लेजुङमा दर्जनौं घर जलेर नष्ट भएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।