काठमाडौं- नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) बनाउने गिरोहका ६ सदस्य पक्राउ परेका छन्।
स्मार्ट लाइसेन्स र सरकारी कार्यालयका कर्मचारीहरुको परिचयपत्र नक्कली बनाई बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले गिरोहका ६ सदस्यलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी-१५ घर भई जडिबुटी बस्ने २७ वर्षीय दीपक ब्लोन, सर्लाही हरिवन-१ घर भई कुलेश्वर बस्ने ४८ वर्षीय बुद्धिबहादुर रोक्का, बौद्ध चुच्चेपाटीकी ३६ वर्षीयाा अन्नता गुरुङ, बाराको जितपुर सिमरा-१ घर भई अनामनगर बस्ने ३१ वर्षीय अशोक कार्की, सिरहाको सुखिपुर-४ घर भई कोटेश्वर बस्ने ४१ वर्षीय मोहन यादव र काठमाडौं लाजिम्पाटका ५६ वर्षीय कुमार तण्डुकार छन्।
प्रहरीले मंगलबार जाँच गर्ने क्रममा ब्लोनलाई पुतलिसडकमा ०२०६००४४३३९७ नम्बरको बिएफजी वर्गको नककली लाइसेन्ससहित पक्राउ गरेपछि गिरोहसम्म पुग्न सफल भएको थियो।
उनले पक्राउ परेका रोक्कासँग ३० हजारमा किनेको बताएपछि प्रहरीले रोक्कालाई पक्राउ गरेको थियो।
रोक्काले आफ्नो स्टुडियोमा डिजाइन गरी न्युरोडमा रहेको फोटो कन्सर्नबाट बनाउने गरेको प्रहरीलाई बताएका थिए। फोटो कन्सर्न प्रालिले विभिन्न व्यक्तिहरुको विवरणहरु डिजाइन गरी प्रिन्ट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
आशिष स्टुडियोका सञ्चालक बुद्धिबहादुर रोक्कालाई दीपक ब्लोन नामको स्मार्ट लाइसेन्स, अन्य लाइसेन्स ४ थान, नागरिकताका प्रमाणपत्रहरु, भारत सरकारको आधार कार्डसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ।
त्यस्तै फोटो कनसर्नमा खानतलासी गर्दा लक्ष्मण झाँक्री नामको लाइसेन्स, उनकै नामको सशस्त्र प्रहरी जवानको परिचयपत्र, विभिन्न कलेजहरुका परिचयपत्र, सिपियु, कटर मेशिन, प्रिन्टरलगायतका सामानहरु बरामद भएको थियो।
अनुसन्धानका क्रममा उक्त प्रालिका फोटोग्राफर कुमार तण्डुकार, सेल्स अफिसर अनन्ता गुरुङ, प्रिन्टर तथा मार्केटिङको काम गर्ने अशोक कार्की, क्यासियर मोहन यादवलाई समेत पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।