काठमाडौं– काभ्रेका एक दम्पत्ति हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-२५ भैसेपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका-७ घर भएका २० वर्षीय किरण कुमार मगर र काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने उदयपुर चौदण्डिगढी नगरपालिका-१० घर भएका २४ वर्षीय सुमन राई रहेका छन्।
उनीहरुले काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ दाप्चा तल्लो हटियास्थित आफ्नै घरमा किराना पसल सञ्चालन गरी बस्ने ५५ वर्षीय श्याम कृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकुमायाको हत्या गरेको प्रहरीले जनाएको छ।
उनीहरुलाई धारिलो हतियार खुर्पा र बियरको बोतल प्रहार गरी हत्या गरेको आरोप लागेको छ।
२०७६ कात्तिक १९ गते राति ती दम्पत्तीको हत्या भएको घटनाको सम्बन्धमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेका मगरलाई ललितपुर महानगरपालिका-२५ भैसेपाटी र राईलाई काठमाडौं महानगरपालिका-७ सरस्वतीनगर चावाहिलबाट पक्राउ गरिएको हो।
घटनामा प्रयोग भएको हतियारसहित दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेलाई बुझाइएको उक्त व्युरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।