काठमाडौं– नेपाल प्रहरीको इतिहासमा सबैभन्दा ठूलो रकमको पुरस्कार स्थापना भएको छ।
नेपाल बंगलादेश बैंकको सहयोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले एक वर्षमा १८ लाख ६० हजार रुपैयाँ खर्च गर्नेगरी ‘काठमाडौं प्रहरी अवार्ड’ स्थापना गरेको हो।
हरेक महिना उत्कृष्ट काम गर्ने प्रहरीलाई नगदसहित पुरस्कृत गरी काममा प्रोत्साहित गर्ने उद्देश्यले उक्त पुरस्कारको स्थापना गरिएको बताइएको छ। यसले प्रहरीमा उत्साह ल्याए पनि तल्लो तहका प्रहरीले भने पुरस्कार रकममा विभेद गरिएको गुनासो गरेका छन्।
हरेक महिना काठमाडौं परिसर मातहतमा कार्यरत जवानदेखि डिएसपीमध्येबाट हरेक दर्जाका उत्कृष्ट एक प्रहरीलाई पुरस्कृत गरिने योजना छ। हरेक पदका प्रहरीको पुरस्कार रकम फरक-फरक छ।
सबैभन्दा कम तलब खाने जवानलाई पुरस्कारको रकम १० हजार छ भने डिएसपीलाई ५० हजार राखिएको छ। डिएसपीको तुलनामा जवानको पुरस्कार रकम निकै कम राखिएकोमा असुन्तुष्टि व्यक्त भएको हो।
जवानलाई १०, हवल्दारलाई १५, असईलाई २०, सईलाई २५, इन्सपेक्टरलाई ३५ र डिएसपीलाई ५० हजार रुपैयाँ पुरस्कारको स्थापना गरिएको छ। काममा धेरै दुःख हुने जवान/हवल्दारलाई थोरै मात्र पुरस्कार तर माथिल्लो तहको प्रहरीको पुरस्कार रकम धेरै राखिएकोमा तल्लो तहमा प्रहरी बेखुसी देखिएका हुन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापा भने प्रहरी नियमावलीमा माथिल्ला पदका प्रहरीको पुरस्कार रकम धेरै हुने भएकाले सोही अनुसार मिलाइएको बताउँछन्।
पुरस्कारका लागि हरेक महिनाको ३ गतेभित्र आफ्ना कामको विवरण पेश गर्नुपर्ने कार्यविधि बनाइएको छ। कामको निष्पक्ष मूल्यांकन गरी पुरस्कार दिइने एसएसपी विश्वराज पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।