बाजुरा- बाजुराको हिमाली गाउँपालिकाले रक्षामन्त्री भीमसेनदास प्रधानलाई १२ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा गाउँपालिकाले कवाडीदेखि विच्छ्या हुँदै मानसरोवर जोड्ने सडक निर्माणका लागि पहल गर्नुपर्ने, हिमाली गाउँपालिकाका प्रत्येक ६ वडामा स्वास्थ्य चौकी निर्माण, गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणका माग राखिएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले जानकारी दिए।
मन्त्री प्रधानलाई हिमाली गाउँपालिकामा प्रशस्तरुपमा विभिन्न जडीबुटी पाइने भएकाले विच्छ्याबाट हुने अवैध चोरी निकासी तत्काल रोक्नुपर्ने, विद्यालयमा पढाइ अवरोध भएकाले तत्काल स्थायी शिक्षकको दरबन्दी कायम गर्नुपर्ने र विच्छ्या र रुगिनका लागि कवाडीमा स्थायीरुपमा चामलको डिपो स्थापना गर्नुपर्ने लगायतका १२ बुँदे मागसहित ज्ञापनपत्र बुझाइएको हो।
भौगोलिक विकटतासँगै हिमालीमा सरकारी सेवा सुविधामा समयमै जनताले सहजरुपमा नपाएको भन्दै रक्षामन्त्रीसँग गाउँपालिकावासीले दुखेसो पोखेका छन्।
ज्ञापनपत्र बुझ्दै रक्षामन्त्री प्रधानले बाजुराको हिमाली गाउँपालिकालाई विशेष प्राथमिकता दिन छलफल गर्ने आश्वासन दिए। उनले हिमाली गाउँपालिकामा थुप्रै सम्भावना भएकाले यसको संरक्षण र संवद्र्धन गर्न सरकार प्रतिबद्ध रहने बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।