काठमाडौं–चीनमा आउँदो मंगलबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को ८६ औं महासभामा प्रतिआतंकवाद, संगठित अपराध र साइबर क्राइमजस्ता विश्वव्यापी समस्या मुख्य एजेन्डा हुने बताइएको छ।
विश्वका १ सय ९० देशका प्रहरी प्रमुख सहभागी हुने महासभामा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल शनिवार चीनतर्फ लागेका छन्। महासभाको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्ने कार्यक्रम रहेको छ।
नेशनल कन्भेन्सन सेन्टर बेइजिङमा आयोजना हुने कार्यक्रममा इन्टरपोल कार्यसमितिका अध्यक्ष मेङ होङउई, महासचिव जर्गेन स्टक, कार्यसमितिका पदाधिकारीलगायत इन्टरपोलका १ सय ९० सदस्य राष्ट्रका प्रहरी प्रमुख, विशिष्ट प्रतिनिधि तथा सुपरिवेक्षकको सहभागिता रहनेछ।
४ दिनसम्म चल्ने महासभामा प्रमुख रुपमा ‘इन्टरपोल २०२० योजना कार्यान्वयन’ अन्तर्गत विश्वव्यापी चुनौतिको रुपमा स्थापित प्रतिआतंकबाद, संगठित अपराध (मानव बेचबिखन, वन्यजन्तु अपराध, प्रवासी तस्कर) र साइबर क्राइमका बिषयमा छलफल केन्द्रित हुनेछ। प्रहरी क्षमता अभिवृद्धिका निम्ति इन्टरपोलको प्रविधि र विकासलाई सदस्य राष्ट्रमा विस्तार गरी ‘इन्टरपोल ग्लोबल ट्रेनिङ रणनीति’ माथि पनि महासभामा छलफल हुनेछ।
प्रतिआतंकवादका विशेषज्ञ लगायतका प्रतिनिधिबीच संदिग्ध व्यक्तिको पहिचान गरि तिनको भ्रमण, अनलाईन उपस्थितिलाई निरुत्साहित गर्नका लागि विशेष छलफल हुदैछ।
इन्टरपोलका कार्यकारिणी समितिमा विभिन्न पदमा निर्वाचनद्वारा पदाधिकारी चयन गरिनुका साथै नयाँ सदस्य राष्ट्रका रुपमा प्यालेस्टाइन र सोलोमोन टापुको चयन गर्न मतदान हुनेछ।
नेपाल प्रहरीको तर्फबाट महानिरीक्षक अर्यालसँगै प्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारी र प्रहरी उपरीक्षक किरण बज्राचार्य सहभागी हुदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।