बागलुङ- बरेङ गाउँपालिका–२ पेरिडाँडामा शनिबार भएको जिप दुर्घटनामा परी दुई प्रहरीको घटनास्थलमै ज्यान गएको छ।
सदरमुकाम बागलुङ बजारबाट बाटाकाचौरतर्फ जाँदै गरेको ग १ ज १३४ नम्बरको जिप दुर्घटना हुँदा गुल्मीको अग्लुङ–३ घर भएका प्रहरी हबल्दार खिमबहादुर विष्ट र सोही जिल्ला हाडहाडे–४ का प्रहरी जवान ढालबहादुर श्रीषको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
१५ जना सवार उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले बताए।
दुर्घटनामा परी घाइते भएका अन्य १३ जनाको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा ज्यान गुमाएका प्रहरी हवल्दार विष्ट इप्रका बरेङ र प्रहरी जवान श्रीष इप्रका बाटाकाचौरमा कार्यरत थिए।
दुवै प्रहरी प्रदेश नं २ मा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएर कार्यक्षेत्रमा फर्कने क्रममा दुर्घटनामा परेका हुन्। साँघुरो र हिलाम्य सडकका कारण जिप दुर्घटना परेको हुनसक्ने प्रहरीको अनुमान छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।