काठमाडौँ- वाम एकताका लागि गठित राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले बुधबार मस्यौदालाई अन्तिम रुप दिने भएको छ।
सिंहदरबारस्थित नेकपा (एमाले) संसदीय दलको कार्यालयमा आइतबार बसेको कार्यदलको बैठकमा मस्यौदामाथि गहन र विस्तृतरुपमा छलफल भए पनि नटुंगिएकाले बुधबार मस्यौदाले अन्तिम रुप पाउने कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए।
'मस्यौदामाथि दुवै पक्षले आआफ्ना सुझाव राख्ने र छलफल गर्ने काम पूरा भएको छ, सबै सुझाव समेटेर कार्यदलले १४ गते बस्ने बैठकमा प्रतिवेदनलाई अन्तिमरुप दिनेछ,' उनले भने। मस्यौदामा थप छलफल आवश्यक रहेको निष्कर्ष बैठकमा सहभागीहरुले निकालेका छन्।
कार्यदलले बनाएको मस्यौदामा एमाले नेता माधव नेपाल संयोजकत्वको कार्यदलले राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गरेको थियो। कार्यदलले तयार गरेको मस्यौदामा सदस्यहरुले आइतबार छलफल गरेका थिए।
माधवकुमार नेपाल संयोजक रहेको कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, रघु पन्त र सुवास नेम्वाङ तथा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल छन्।
कार्यदलले तयार गरेको प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाउनेछ। दुवै पार्टीका शीर्ष नेताहरुले सार्वजनिक कार्यक्रममार्फत पार्टी एकता अब छिट्टै हुने घोषणा गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।