नयाँ दिल्ली (एजेन्सी)- भारतका सामाजिक कार्यकर्ता अन्ना हजारेको अनिश्चिकालीन भोक हडतालको तेस्रो दिन पुग्दा उनको पक्षमा साथ र समर्थन बढ्दो छ।
किसानको पक्षमा निर्णय गर्न सरकारलाई दबाव दिनुका साथै लोकपाल विधेयक संशोधनसहित पारित हुनुपर्ने मागसहित गत शुक्रबारदेखि हजारेले दिल्लीको रामलीला मैदानमा अनशन सुरु गरेका थिए।
उनको अनसनलाई किसानका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले पनि समर्थन गर्ने क्रम बढिरहेको छ। आइतबार गुजरातका नेता हार्दिक पटेलले समेत समर्थन गरेका छन्। उनले रामलीला मैदानमै पुगेर हजारेको आन्दोलनमा पटेल समुदाय र आफ्नो समर्थन रहेको बताएका छन्।
हजारे सन् २०११ मा पनि अनसन बसेका थिए। त्यसबेला उनले व्यापक समर्थन पाएका थिए। सो समयमा हजारेले आम आदमी पार्टीका नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई समर्थन गरेका थिए। तर, यस पटक हजारेले नेताहरुले आफूलाई प्रयोग गरेर राजनीतिक लाभ उठाएको भन्दै आफ्नो अनसनमा दलहरुबाट सधैंका लागि अलग हुन चाहने व्यक्तिलाई मात्र स्थान दिने बताएका छन्। यस पटक २०११ मा जस्तो उनको पक्षमा समर्थन भने देखिएको छैन।
यद्यपि भारतका विभिन्न भागका हजारौं किसानले हजारेको अनसनलाई समर्थन गरेका छन्। ‘वाटर म्यान अफ इन्डिया’ को नामले परिचित किसान नेता राजेन्द्र सिंह शनिबार हजारेलाई भेट्न रामलीला मैदान पुगेका थिए।
किसानका सहित विभिन्न ७ वटा माग लिएर हजारे अनशनमा छन्।
हजारेका ७ माग-
१) किसानको कृषि उपजमा लागतको आधारमा डेढ गुणा बढी दाम मिल्नुपर्ने।
२) कृषिमा निर्भर ६० वर्ष नाघेका किसानलाई प्रतिमहिना ५ हजार रुपैयाँ पेन्सनको व्यवस्था हुनुपर्ने।
३) कृषि मूल्य आयोगलाई संवैधानिक हैसियत र स्वायत्तता दिनुपर्ने।
४) लोकपाल विधेयक पारित गरी लोकपाल कानुन तुरुन्त लागू गर्नुपर्ने
५) लोकपाल कानुनलाई कमजोर बनाउने धारा ४४ र ६३ लाई तत्काल संशोधन गर्नुपर्ने
६) हरेक राज्यमा सक्षम लोक आयुक्तको नियुक्ति हुनुपर्ने।
७) चुनावी पद्धति सुधारका लागि तत्काल केही विशेष निर्णय गर्नुपर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।