मोगादिसु, सोमालिया- कार बम विस्फोटनमा परी सोमालियामा कम्तीमा ७३ जनाको मृत्यु भएको छ। शनिबार बिहानको समयमा भएको सो विस्फोटमा परी अन्य थुप्रै गम्भीर घाइते भएको र मृतकको संख्या बढ्न सक्ने विभिन्न समाचार एजेन्सीहरूले जनाएका छन्।
प्रहरी र प्रत्यक्षदर्शीहरुले दिएको जानकारी अनुसार विस्फोटनको आवाज निकै ठूलो सुनिएको थियो। विस्फोटनपछि स्थानीय बासिन्दा त्रसित भएका थिए।
'७३ जनाको शव हामीले फेला पारेका छौं। मृतकको संख्या अझ बढ्न सक्छ। धेरै घाइतेहरू गम्भीर छन्,' राजधानी मोगादिसुस्थित मदिना अस्पतालका निर्देशक डा मोहम्मद युसुफले भने।
विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन। तर सैन्य दस्ता अल शबाबले यसअघि पनि क्रमबद्ध रुपमा विस्फोट गराउँदै आएकाले उसले नै विस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ। अल शबाब अल्काइदासँग सम्बन्धित सैन्य संगठन हो।

विस्फोटमा परी अन्य थुप्रै घाइते भएको तर संख्या भने यकिन भइनसकेको अन्तरराष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन्। घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।