मस्को- रुसले आवाजको गतिभन्दा २७ गुणा छिटो निशानामा पुग्न सक्ने अभनगार्ड हाइपरसोनिक मिसाइल (क्षेप्यास्त्र)लाई सेनामा सामेल गरेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त मिसाइल रुसी सेनासँग रहने घोषणा गरेका हुन्। अत्यन्तै तीव्र गतिका कारण कुनै पनि एन्टी–मिसाइल सिस्टमले यसबाट बचाउन निकै मुस्किल गर्ने पुटिनको दाबी छ। पुटिनले भनेका छन्, 'अभनगार्ड मिसाइल हरेक मिसाइल डिफेन्स सिस्टमलाई पार गर्न सक्छ।'
२७ डिसेम्बरमा स्थानीय समयअनुसार बिहान १० बजे उक्त मिसाइल सेनामा सामेल गरिएको रुसी रक्षामन्त्री सर्गेई सोइगुले जानकारी दिए। यो आवाजको गतिभन्दा बढीमा २७ गुणा र औसतमा २० गुणा छिटो छ।
उक्त मिसाइल तैनाथी गरिएको स्थान गोप्य राखिएको छ। अभनगार्डले यूरलको पहाडी क्षेत्रमा ६ हजार किलोमिटर परको एक प्राक्टिस टार्गेटलाई सफलतापूर्वक निसाना बनाएको थियो। प्रतिघण्टा न्यूनतम ६ हजार १७४ किलोमिटरको गतिमा अघि बढ्ने यो मिसाइल क्रुज र ब्यालेस्टिक दुवै फिचर्सबाट सुसज्जित छ।
लन्च गरेपछि यो मिसाइल पृथ्वीको कक्षबाट बाहिर जान्छ र फर्किएर हावा वा जमिनमा रहेको टार्गेटलाई निसाना बनाउँछ। तेज गतिका कारण एन्टी मिसाइल सिस्टमको रडारले पनि यसलाई पत्ता लगाउन मुस्किल पर्ने बताइएको छ।
रसियाले यो पहिलो हाइपरसोनिक मिसाइल हो भनी दाबी गरेको छ। अमेरिकी रक्षा विभाग पेन्टागनका अनुसार उसकाे हाइपरसोनिक मिसाइल कार्यक्रम अझै जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।