पोखरा- दोस्रो पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटको फाइनलमा शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स खेल्दै छन्।
पोखरा रंगशाला क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ। फाइनल खेलमा चितवनका कप्तान पारस खड्का र विराटनगरका कप्तान प्रदीप सिंह ऐरी सम्हालिएर राम्रो क्रिकेट खेल्ने टिमले नै उपाधि जित्ने हुँदा राम्रो तयारीमा रहेको बताउँछन्।
‘हामी गएको वर्ष पनि फाइनलमा हारेका थियौँ तर त्यो बितेको धेरै समय भइसक्यो, अहिले अवस्था फरक छ, विराटनगरले राम्रो क्रिकेट खेलेर फाइनलमा स्थान बनाएको हो, हामीले लिगमा नजिक पुगेर जितेको पनि विराटनगरसँग नै हो, त्यसैले फाइनलमा यसै हुन्छ भन्न कठीन छ’ चितवनका कप्तान पारस खड्काले बताए।
यस्तै विराटनगरका कप्तान प्रदीप सिंह ऐरी पनि आफूहरुको युवा टिम पारसको अनुभवि टिमसँग सम्हालिएर खेल्ने नै बताउँछन्। ‘क्रिकेटमा यसै हुन्छ भन्न त सकिँदैन, फाइनलमा जसले कम गल्ती गर्छ जित्ने उसैले नै हो। यसैले हामी सकेसम्म कम गल्ती गर्दै उपाधि जित्ने योजनामा छौँ, धेरै योजनाहरु त विकेटको अवस्था हेरेर फिल्डमा नै बन्छ’ उनले भने।
फाइनल खेलमा समर्थनका लागि चितवनले बस रिजर्भ गरेर चितवनदेखि नै दर्शक ल्याउने योजना पनि बनाएको छ। पोखरामा रहेका दर्शक पनि शनिबारको खेलमा विशेष उपस्थित भइरहेका छन्। गएको वर्षको विजेता टिम पोखरा यसपटक लिग चरणबाट नै बाहिरिए पनि दर्शकको विशेष लगाव सुरुदेखि नै अरु टिममा नै देखिन्थ्यो।
जारी पिपिएलमा सबैभन्दा बढी ११ विकेट लिने खेलाडी चितवनकै करण केसी हुन्। उनले ५ इनिङमा नै ५.४४ को इकोनोमी बनाएर ११ विकेट लिएका हुन्। दोस्रोमा १० विकेट लिने भुवन कार्की पनि चितवनकै हुन्।
यस्तै तेस्रोमा ९ विकेट लिने सन्नी पटेल पनि चितवनकै हुन्। विराटनगरका मोहम्मद जायद आलम र किशोर महतोले पनि समान ९ विकेट नै लिएका छन्। त्यसपछि ८ विकेट लिने चितवनका रोहन मुस्तफा र विराटनगरका शाहब आलम छन्।
.JPG)
सर्वाधिक रनको सूचिमा पनि चितवन र विराटनगरका खेलाडीको अवस्था राम्रो देखिन्छ। ६ इनिङमा २ सय ४ रन हानेका विराटनगरका पुनित मेहरा सर्वाधिक रन बनाउने खेलाडी हुन्। ५ इनिङमा नै १ सय ९८ रन हानेका चितवन बाबर हयात, १ सय ५६ रन हानेका रोहन मुस्तफा, १ सय ४२ रन हानेका आरिफ शेख प्रतियोगिताभर महत्वपूर्ण देखिएका छन्।
लिग चरणका खेलमा सबै पाँच खेल जितेर चितवन सिधै फाइनल पुगेको हो। गएको वर्ष पहिलो पिपिएलमा पोखरासँग हारेर उपविजेता बनेको चितवनमा अनुभवी खेलाडीहरु रहेका छन्।
युवा खेलाडीहरु रहेको विराटनगर लिग चरणमा पाँचमा दुई खेल जितेर नेट रन रेटका आधारमा प्ले अफमा पुगेको थियो। जहाँ इलिमिनेटर खेलमा बुटवल ब्लास्टरलाई २१ रनले हराएर विराटनगर फाइनलमा पुगेको हो। पछिल्लो दुई खेलमा स्तरीय क्रिकेट देखाएको विराटनगर लिग चरणमा चितवनसँग सबैभन्दा कम अन्तरले हार्ने टिम पनि हो।
लिग चरणमा चितवनले पहिलो खेलमा पोखरालाई ६ विकेटले हराएको थियो। दोस्रो खेलमा बुटवललाई १ सय १९ रनले हराएको चितवनले तेस्रो खेलमा धनगढीलाई ५२ रनले हराएको थियो। चौथो खेलमा विराटनगरलाई १८ रनले हराएको थियो। पाँचौ खेलमा काठमाडौंलाई ६० रनले हराएको थियो।
.JPG)
यसअघि पहिलो खेलमा विराटनगर धनगढीसँग ५ रनले पराजित भएको थियो। दोस्रो खेलमा पोखरालाई ४५ रनले हराएको विराटनगर तेस्रो खेलमा काठमाडौंसँग ३६ रनले हारेको थियो। चौथो खेलमा विराटनगर चितवनसँग १८ रनले हारेको थियो। पाँचौँ खेलमा बुटवललाई ४ विकेटले हराउँदै विराटनगर प्लेअफमा पुगेको थियो।
पिपिएल विजेताले २७ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। साथै उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइँदै छ। जसमा म्यान अफ दि सिरिज, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान रहने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।