काठमाडौं- विभागीय टिम नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ।
शुक्रबार दशरथ रंगशालामा भएको खेलमा पुलिसले सरस्वती युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो। पुलिसको जितमा सुमन लामा र भोला सिलवालले गोल गरे।
पहिलो हाफमा नै १० खेलाडीमा सीमित भएको पुलिसले दुबै गोल दोस्रो हाफमा गरेको थियो। पहिलो हाफको अतिरिक्त समयमा अञ्जन राईले दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड खाएपछि पुलिस १० खेलाडीमा सीमित भएको थियो।
खेलको ४६औं मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई १–० गोलको अग्रता दिलाएका थिए। खेलको ७९औं मिनेटमा भोला सिलवालले गोल गर्दै २–० गोलको जित दिलाएका हुन्।
पुलिसले जितसँगै ४ अंक बनाएको छ। यसअघि पुलिसले पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग गोल रहित बराबरी खेलेको थियो। दोस्रो खेलमा भने पुलिस थ्रीस्टार क्लबसँग १–० गोलले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।