काठमाडौं– लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा १३ अंकको अग्रता बनाएको छ।
बिहीबार राति भएको खेलमा लेष्टर सिटीलाई ४–० गोलअन्तरले पराजित गर्दै लिभरपुलले १३ अंकको फराकिलो अग्रता बनाएको हो। घरेलु टोली लेष्टर सिटीलाई पराजित गर्ने क्रममा लिभरपुलका रोबर्टो फिर्मिन्होले २, जेम्स मिल्नर र एलेक्सजेन्डर आर्नोल्डले गोल गरे।
खेलको पहिलो हाफमा १–० गोलको अग्रता बनाएको लिभरपुलले खेलको दोस्रो हाफमा थप ३ गोल गर्न सफल भयो। लिभरपुलका लागि खेलको ३१औं मिनेटमा फिर्मिन्होले गोल गर्दै अग्रता दिलाएका थिए।
खेलको ७१औं मिनेटमा मिल्नरले गोल गर्दा ७४औं मिनेटमा फिर्मिन्होले नै व्यक्तिगत दोस्रो गोल गर्दै ३–० गोलको अग्रता दिलाए। खेलको ७८औं मिनेटमा एलेक्सजेन्डरले गोल गरेपछि लिभरपुलले लेष्टर सिटीमाथि ४–० गोलको फराकिलो जित निकालेको हो।
शीर्ष स्थानमा रहेको लिभरपुलले जितपछि १८ खेलबाट ५२ अंक बनाएको छ। यता, दोस्रो स्थानमा रहेको लेष्टरको १९ खेलबाट ३९ अंक छ। लिगको तेस्रो स्थानमा भने म्यान्चेस्टर सिटी रहेको छ। उसको १८ खेलबाट ३८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।