काठमाडौं- बिहीबार बिहान सिन्धु सदाबहादर अस्पतालको वातावरण सदाको भन्दा फरक थियो। सधैं उपचारमा व्यस्त हुने स्वास्थ्यकर्मीहरू भावुक देखिन्थे। त्यहाँ कार्यरत नर्स, डाक्टर र कर्मचारीहरु १३ दिनदेखि अस्पतालमा रहेकी शिशुलाई बोकेर यताउता गरिरहेका थिए।
बलेफी गाउँपालिकाको खाडीचौर बजारस्थित सिन्धु सदाबहार अस्पतालमा अघिपछिभन्दा बढी भिडभाड थियो। नियमति रूपमा स्वास्थ्य परीक्षण आउने भए पनि खासै ठूलो चहलपहल नहुने सो अस्पतालमा बिहीबार धेरै मानिसको उपस्थिति थियो। अस्पताल परिसरमा उपस्थित प्रायः सबै भावुक देखिन्यो।
यसरी भावुक हुनुको एउटै कारण थियो, सिन्धुपाल्चोक दुर्घटनामा आमा गुमाएकी ७ महिने शिशु। १३ दिनसम्म अस्पताल बसेकी ती ७ महिने शिशुलाई बिहीबार नै परिवारले अस्पतालबाट जिम्मा लिँदै थिए। बस दुर्घटनामा भिडमा अड्किएर बाँच्न सफल भएकी उनी अस्पतालमा निगरानीमा रहेकी थिइन्।
त्यति ठूलो दुर्घटनामा परेर पनि बाँच्न सफल भएकी ती बालिकाको विषयले प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई भावुक बनाएको थियो। उनकी आमा दुर्घटनमा मृत्यु भएकी थिइन् भने बाबु बस चालक थुनामा छन्।
शिशुलाई अभिभावकको जिम्मा लगाएपछि नर्स र अस्पतालका कर्मचारीका आँशु रसाएका थिए। अस्पतालका दुई डाक्टर र नर्सले ती शिशुलाई मामालाई सुम्पिरहँदा आफूलाई सम्हाल्न सकिरहेका थिएनन्। शिशुको हेरचाह गर्ने विमला तामाङ अरुबाट लुकेर रोइरहेकी थिइन्। दूध चुसाउने सुनकोसी-७ की सुनिता माझी शिशु बिदा गर्ने खबरले रुँदै घरतिर लागेपछि वातावरण झनै भावुक बन्नेको थियो।
भिडियो
सिन्धु सदाबहार अस्पतालमा ‘सिन्धु’ नामाकरण गरी टीका, दोसल्ला लगाएर सबैमाझ मामा मइलो लो र सानिआमा सुकुमाया लोले काख दिएर दूध पिलाए। बुबाआमा खोजिरहेका अबोध शिशुका आँखाले १३ दिनपछि मात्रै आफन्तको काख पाएको हो। ‘भगवानले बहिनी सुनितालाई लगे, तर सिन्धुलाई हामी हुर्काउनेछौँ। यस्तो दुर्घटनाबाट बाँचेकी यिनीपछि केही बन्नेछिन्,’ सर्लाही नारायण खोलाका मामा मइलो लोले हर्षित मुद्रामा भने।
१३ दिनसम्म कानुनी प्रक्रिया नमिल्दा शिशुलाई आमाझैं हेरचाह गरेर ममता पुर्याएको भन्दै उनले सबैलाई धन्यवाद दिए। उनीसहित शिशुकी सानीआमा सुकुमाया लो, ठूलीआमा सुकुमाया लो, काका सुकराम शिशु लिन आएका थिए।

‘१३ दिनपछि सिन्धुले बल्ल आफन्तको काख पाएकी छन्, यो खुशीको कुरा हो। तर अब सदाबहार अस्पताल सुनसान बन्दैछ यसले दुःखित बनाएको छ,’ नर्स लक्ष्मी विकले भक्कानिँदै भनिन्। लिसंखुपाखर गाउँपालिकाका र सिन्धु सदाबहार अस्पतालका अध्यक्ष कमल नेपाल, सुनकोसी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेलले सिन्धुको अभिभावकत्व लिन तत्पर रहेको बताए।
सुनकोसी-६ को मोडबाट सय मिटर तल बस खसे पनि सुरक्षित भेटिएकी सात महिने शिशुको दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीयले उद्धार गरेका थिए। १५ घाइतेसहित शिशुको उपचारका लागि ६ किलोमिटर तल बलेफी गाउँपालिकाको खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा ल्याइएको थियो ।
अन्य घाइतेसँगै ल्याइएकी शिशुको अवस्था सामान्य देखिएपछि उनलाई बाल स्याहार कक्षमा राखिएको थियो। कोलाहल वातावरणबीच दूध खान खोजेपछि स्वास्थ्यकर्मीले बोतलबाट पिलाउन खोजे। तर शिशुले आमाकै दूध खोजेपछि सुनकोसी-७ माझीगाउँकी सुनिता माझीले आमाझैं स्नेह गरेर दूध पिलाइन्।
गत साता कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रु बस अनियन्त्रित भई सडकबाट खस्दा १६ जनाको मृत्यु भएको थियो। जसमा बितेकी सर्लाहीकी सुनिता 'सिन्धु'की आमा थिइन्। शिशुका बुबा चालक इन्द्रावती गाउँपालिका भोटसिपाका सुमन तामाङ प्रहरीको सम्पर्कमा आएपछि कानुनी प्रक्रिया मिलाएर अभिभावकलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।